गोरखा क्षेत्र नम्बर २ को चुनावी इतिहास पल्टाउने हो भने बहुदलयताका तीन वटा चुनाव कांग्रेस र दोस्रो जनआन्दोलनपछि भएका चार वटा चुनाव माओवादी पृष्ठभूमि भएका उम्मेदवारले जितेका छन्।
२०४८ मा गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेसकी मैयादेवी श्रेष्ठ निर्वाचित भएकी थिइन्। त्यसपछि २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचन कांग्रेसकै कमला पन्तले लगातार जितिन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट डा बाबुराम भट्टराईले सबैभन्दा बढी मत ल्याएर जिते। २०७० मा भएको दोस्रो संविधानसभामा माओवादीकै हितराज पाण्डे सो क्षेत्रबाट निर्वाचित भए।
संविधान जारी भएपछि २०७२ असोजमा बाबुराम भट्टराईले माओवादी छोडेर नयाँ शक्ति बनाए। २०७४ मा प्रतिनिधि सभाको चुनाव भयो। एमाले र माओवादीबीच चुनावी तालमेल भयो। तर, गोरखा २ मा कांग्रेससँग मिलेर भट्टराईले चुनाव जिते।
२०७९ मा भएको अर्काे चुनावमा उनै भट्टराईले आफूले जितेको क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा गोरखा २ बाट १४ जनाले उम्मेदवारी दिएका छन्।
नेकपाबाट केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा एमालेबाट मिलन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकोटी, आम जनता पार्टीबाट कल्पना कुमाल, नेकपा माओवादीबाट टेकबहादुर प्रधान, मंगोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामशरण बुढाथोकी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेसनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ अनि चुडाप्रसाद ढकाल र हरि पोखरेल स्वतन्त्र उम्मेद छन्।
लिगेसीले काम गर्नेमा आशावादी नेकपा
गोरखा २ मा यसपटक प्रचण्डले सो क्षेत्र लामो समय विद्यार्थी राजनीतिमा बिताएका, पार्टीभित्र विद्वान र वैचारिक नेताको छवि बनाएका लेखनाथ न्यौपानेलाई छोडिदिएका छन्। चुनावी प्रचारमा उनी व्यस्त छन्। तर, न्यौपानेलाई सहयोग गर्न यसपटक मैदानमा बाबुराम भट्टराई, उनका निकट केही नेता छैनन्।
भट्टराई आफैँ प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मैदानमा थिए। यद्यपि, अन्तिम समयमा मनोनयन फिर्ता लिएका उनले रास्वपाको आग्रहमा छाडेको बताएका छन्। यद्यपि, उनले कसलाई समर्थन गर्छन्, यकिन छैन।
तर, नेकपाका केन्द्रीय नेता हितराज पाण्डे आफ्ना उम्मेदवार न्यौपानेले जित्ने दाबी गर्छन्। पार्टी संगठन मजबुत र एकताबद्ध रहेको र बाबुरामसँग रहेको मत समेत न्यौपानेले पाउने पाण्डेको भनाइ छ।
‘प्रचारप्रसार, घरदैलो कार्यक्रममा हाम्रो पक्षमा उत्साहपूर्ण माहोल छ,’ उनले भने, ‘यहाँ २ वटा नगरपालिका र ३ वटा गाउँपालिका छन्। ४ वटा माओवादी केन्द्रले जितेको छ। नेकपा स्वतः अगाडि छ। तथ्यहरूले त्यही बताउँछ। बाबुरामले कसलाई छोड्नु भएको हो यकिन छैन। तर, उहाँसँग रहेका धेरै नेता कार्यकर्ता, हामीतिरै फर्किसक्नुभएको छ।’
२०७९ को चुनावमा कांग्रेससहितको गठबन्धन हुँदा जितेका प्रचण्डसँग रास्वपा निकटतम प्रतिद्वन्द्वी भएको थियो। तर, यसपटक नेकपाले गोरखा २ मा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको छ।
समानुपातिकतर्फ २०७९ मा माओवादी केन्द्रले सो क्षेत्रबाट सबैभन्दा बढी १९ हजार मत पाएको थियो। कांग्रेसले ११ हजार ८ सय ८२, रास्वपाले ८ हजार ९ सय ९९ र एमालेले ६ हजार १ सय ८५ मत ल्याएका थिए।
‘मुख्य प्रतिस्पर्धी कांग्रेस हो। जहिले पनि कांग्रेसले हामीसँग प्रतिस्पर्धा गरेको छ,’ नेकपाका नेता पाण्डेले भने।
तर, कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी यो कुरा मान्न तयार छैनन्। यसपटक आफैँ जित्ने बलियो आधार बनेको उनले बताए।
‘चुनाव त म जित्छु। यो क्षेत्रमा हाम्रो संगठन पहिलो छ। मैले गरेको सामाजिक काम, सेवा हेरेर पनि सबै दाजुभाइ दिदीबहिनीले उत्साहपूर्वक मत दिनुहुन्छ। म राम्रै मतले निर्वाचित हुन्छु,’ उनले नेपालखबरसँग भने, ‘अरुको लहर मलाई थाहा हुँदैन। मैले चुनाव जित्छु। साथीहरू एकढिक्का छौँ।’
०७४ पछि पहिलो पटक कांग्रेसमा मत दिन पाएकोले पार्टीका नेता कार्यकर्ता उत्साहित रहेको उनी बताउँछन्।
‘एक पटक बाबुराम दाइलाई गुन लगाइयो, एक पटक प्रचण्डलाई लगाइयो, यसपटक उहाँहरूको पनि सहानुभूति मलाई हुन्छ जस्तो लागिरहेको छ,’ उनले थपे।
उता रास्वपा गोरखा जिल्ला सभापति सुवर्ण रोका क्षेत्री भने देशभर देखिएको लहरले आफूहरू उत्साहित भएको बताउँछन्।
‘रास्वपाको क्रेज बढी नै छ। गोरखा नगरपालिका, पालुङटार, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोटमा पनि भोट बदल्न सक्ने प्रबल सम्भावना देखिन्छ,’ उनले भने।
तर, लेखनाथ जस्तो विद्वान र प्रकाशचन्द्रजस्तो सामाजिक व्यक्तित्व भएका उम्मेदवार हराउन सहज नभएको उनले स्वीकार गरे।
‘नेकपा र कांग्रेसका उम्मेदवार बलियो हुनुहुन्छ। उहाँहरूले समाज बुझ्नुभएको साँचो हो, हामीले पनि सम्मान गर्नुपर्छ। तर, समाजमा चलेको परिवर्तनको जुन लहर छ, पार्टीहरूले जुन संस्कार गुमाए, त्यस कारण रास्वपा अहिले बलियो छ। जो युवा छ, त्यसले उम्मेदवारको विश्लेषण गर्छ जस्तो लाग्दैन। परिवर्तन भएको नेतृत्व खोजिरहेको छ समाजले।’
केही समय अगाडि अलिकति अप्ठेरो पर्छ कि क्या हो भनेर आफू चिन्तित भए पनि अहिले माहोल रास्वपातर्फै ढल्केको क्षेत्रीले बताए।
‘मतदाताले लुकेर मत दिने हो, सबैको चुनाव जित्ने लक्ष्य हो। तर, सूक्ष्म अध्ययन गर्दा मान्छेले परिवर्तन चाहेको, विदेशमा बस्नेहरूले आफ्ना परिवारलाई दबाब दिएको कारणले रास्वपा बलियो छ,’ उनले थपे।
तर, गोरखा २ मा एमालेबाट उम्मेदवार बनेका मिलन गुरुङ रास्वपाले फेसबुकमा मात्र हल्ला गरिरहेको बताउँछन्।
‘रास्वपा त फेसबुकमा छन्। गोरखामा एमालेलाई रास्वपाले केही गर्न सक्तैन,’ उनले नेपालखबरसँग भने, ‘जनताको मन जितेर आउँछु नि म।’
एमाले गोरखा कमिटीले बोलाएर आफूलाई टिकट दिएकोले आफ्नो पक्षमा माहोल राम्रो भएको उनी बताउँछन्।
‘म जित्छु। मप्रति युवाहरूको छुट्टै क्रेज छ। यहाँका सबैले माया गर्नुभएको छ। पार्टीभित्र विवाद छैन,’ गुरुङले थपे, ‘यो पालि मलाई पार्टीले नै अनुरोध गरेर उम्मेदवार बनाएको हो।’
कतिपय भने बाबुरामको भूमिकाले गोरखा २ को नतिजा हेरफेर हुनसक्ने टिप्पणी गर्छन्।
बाबुराम बन्लान् निर्णायक?
चुनाव जित्ने देखेर उम्मेदवारी दिएका भट्टराईले किन फिर्ता लिए, स्पष्ट खुलाएका छैनन्। तर, उनले नेकपा र रास्वपाका उम्मेदवारी फिर्ता गराउन जोडबल नगरेका होइनन्।
‘उहाँले लेखनाथ र कबिन्द्रलाई पछि हटाउन निकै प्रयास गर्नुभयो। तर, दुवै तयार नभएपछि आफैँ फिर्ता लिने निष्कर्षमा पुग्नुभएको हो, प्रलोपाका गोरखा जिल्ला इन्चार्ज यानप्रसाद भट्टले भने, ‘जित्ने देखेर बाबुराम उठ्नुभएको हो, तर पछिल्लो दिन परिस्थिति प्रतिकूल बन्यो भन्नुभयो। मैले उम्मेदवारी नदिनुपर्ने रहेछ, मिस्टेक गरेँ भनेर उम्मेदवारी झिक्नुभयो। त्यसपछि हामीले रोक्न सकेनौँ।’
तर, उनले प्रभावित पार्ने मत कति छ भन्ने यकिन नभएको भट्ट बताउँछन्।
‘यति नै मत छ भन्न सकिँदैन। तर, उम्मेदवार नहुँदा त्यो मत खसाल्न र सम्हाल्न गाह्रो भयो। उम्मेदवारी खाली भइसकेपछि मत कसलाई दिने भन्ने गाह्रै हुँदो रहेछ, भत्किन नदिन सम्हाल्न प्रयत्न गरिरहेका छौँ,’ भट्टले भने, ‘मत कता जाला भन्न सकिँदैन। यहाँका मतदाता चनाखो छन्। उम्मेदवार चिनेर, गतिविधि, क्षमता मूल्यांकन गरेर मतदान गर्छन्।’
आफूलाई सहयोग गर्न गरेको आग्रहलाई कबिन्द्र र लेखनाथ दुवैले अस्वीकार गरेकोले भट्टराई खुसी छैनन्। त्यही भएर प्रलोपा र भट्टराईसँग रहेको मत यताउता छरिने भट्टको भनाइ छ।
‘बाबुराम भट्टराईलाई सहयोग नगरेकोले लेखनाथ र कबिन्द्रसँग हाम्रा मान्छे रिसाएका छन्। उहाँहरूलाई सजिलैगरी भोट जाला जस्तो लाग्दैन,’ इन्चार्ज भट्टले भने, ‘डा भट्टराई तटस्थ बस्ने सम्भावना छ। साथीहरूले विवेक प्रयोग गर्नुस् भन्नुहुन्छ जस्तो लाग्छ।’
Shares

प्रतिक्रिया