नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले गत भदौको जेनजी आन्दोलन र विध्वंशको मुख्य जिम्मेवार केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार रहेको बताएका छन्।
रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुनले ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको बताए।
ओली सरकारको जनताका आवाज नसुन्ने र बिचौलिया वर्गको सेवामा समर्पित हुने प्रवृत्ति मुलुक जल्नुको कारक रहेको आरोप पुनले लगाए। आदोलनको पृष्ठभूमि निर्माण गर्ने काममा भने तत्कालीन प्रधानमन्त्री ओलीले सबैभन्दा बढी भूमिका खेलेको पुनले बताए।
‘भदौ २३ गते केपी ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारको भ्रष्ट, स्वेच्छाचारी दमनकारी र निरंकुश प्रवृत्तिविरुद्ध वनयुवाहरुमा गुम्सिएको असन्तोषको विस्फोट थियो’, पार्टीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पुनले भने, ‘जनताका आवाजलाई नसुन्ने बिचौलिया र स्वार्थ समूहहरुको सेवामा मात्र काम गर्ने अनि जनताको मुख थुन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कामको जवाफ थियो त्यो।’
तर, २४ भदौको विध्वंशमा भने गलत तत्वको घूसपैठ भएको पुनले औंल्याए। ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलिकोप्टरमा भागेपछि सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता धरोहर तथा व्यक्तिका घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी र लुटपाट भएको पुनको भनाइ थियो।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा संघीय लोकतान्त्रिक गणतन्त्रमा सर्भिसिङ जरुरी देखेर सुशासनका लागि कदम चाल्दा डराएर मिलेका कांग्रेस–एमालेलाई जनताको शक्तिले मिल्काएको टिप्पणी पुनले गरे। आगामी २१ फागुनमा हुने निर्वाचनबाट ती शक्तिलाई जनताले थप दण्डित गर्ने दाबी पुनको छ।
Shares

प्रतिक्रिया