राजनीति


बालेनविरुद्ध शंकर पोखरेलको टिप्पणी: राज्य नेतृत्वको दाबी गर्नेले संवादबाट भाग्न पाउँदैनन्

बालेनविरुद्ध शंकर पोखरेलको टिप्पणी: राज्य नेतृत्वको दाबी गर्नेले संवादबाट भाग्न पाउँदैनन्

नेपालखबर
माघ १२, २०८२ सोमबार ११:३८, काठमाडौँ

आगामी प्रधानमन्त्री पदका दाबेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीसँग सार्वजनिक बहस गर्न अस्वीकार गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन्। 

यसअघि भावी प्रधानमन्त्री पदका अर्का दाबेदार ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू प्रधानमन्त्रीका सम्भावित उम्मेदवारबिच पब्लिक डिबेट गर्न तयार रहेको घोषणा गरेका थिए भने त्यसमा कमेन्ट गर्दै बालेनले उनीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका थिए।

त्यति मात्र होइन, बालेनले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा-५ का आफ्ना प्रतिस्पर्धी ओलीलाई जेनजी आन्दोलनमा मारिएका युवाहरूको ‘हत्यारा’ भएको आरोपसमेत लगाएका थिए।  

यसपछि एमाले महासचिव पोखरेलले ओलीको बचाउ गर्दै देश नेतृत्वको दाबी गर्नेहरूले प्रश्न र संवादबाट भाग्न नपाउने टिप्पणी गरेका हुन्। 

‘लोकतान्त्रिक राजनीति नीतिहरूको संवाद र छनोट हो। नीति-संवादबाट भाग्नु र जनसम्पर्कबाट टाढा रहनु कुनै पनि हालतमा सही होइन’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘राज्यको नेतृत्वको दाबी गर्नेहरूले त झन् प्रश्न र संवादबाट भाग्न पाउँदैनन्। त्यसमाथि भाद्र २३ र २४ मा भएको उत्तेजना र कुकर्मको भारी अरूको काँधमा थोपर्ने प्रवृत्ति अझै हानिकारक छ। प्रतिशोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन, हुनै सक्दैन।’

प्रधानमन्त्री पदका दाबेदाबारबिच सार्वजनिक बहसको आह्वान गर्दै एमाले अध्यक्ष ओलीले आइतबार लेखेका थिए, ‘नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। ...यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।’

अनि त्यसमा बालेनले कमेन्ट लेखेका थिए, ‘तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतंकवादीचाहिँ कहिले स्वीकार्ने होत्यो पछि अरू कुरा गरौँला। ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad