नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गरेका छन्।
जेन–जी आन्दोलनको क्रममा सिंहदरबार जलाउने एउटा स्टेकहोल्डरको रुपमा सो पार्टी रहेकाले पनि सो पार्टीको कुनै भविष्य समेत नरहेको उनको जिकिर थियो।
मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको सो पार्टीले स्थापित राजनीतिक दलहरूको विरोध गरेर केही दिनका लागि मात्रै चर्चामा आएको बताए।
उपाध्यक्ष थापाले केही दिनका लागि जनतालाई वैकल्पिक शक्ति भनेर सो पार्टीले भ्रम दिएपनि अब नटिक्ने बताए।
उनले भने,‘रास्वपाको न कुनै वैचारिक स्पष्टता छ। न त नीतिगत स्पष्टता छ। यसको केही पनि स्पष्टता छैन। त्यसकारण जित्नका लागि उनीहरूसँग कुनै वैचारिक, राजनीतिक आधार छैन। त्यसकारणले उनीहरुले जित्दैनन्। उनीहरू अहिले केही भ्रम दिन सफल भएका छन्। तर त्यो भ्रम अव धेरै दिन कायम रहँदैन। किनभने भ्रम दिएर नाजीहरु सफल भएका थिए। तर उनीहरु टिकेनन्। रास्वपा सिंहदरबार जलाउनेहरूको एउटा स्टेकहोल्डर हो।’
उपाध्यक्ष थापाले रास्वपालाई अस्थिर राजनीतिक दलको रुपमा समेत चित्रण गरे।
Shares

प्रतिक्रिया