यसपालिको चुनावमा थुप्रै जेनजीहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाइन्छ भन्नेमा विश्वस्त थिए। त्यसैले सोमबार बिहान ११ बजेदेखि नै वनस्थलीस्थित घण्टीघरमा गएर उनीहरू बसेका थिए।
तर, रास्वपाले उनीहरूलाई खालीहात फर्कायो। जेनजी आन्दोलन पछि मनिष ज्ञवाली र अमृत अधिकारी जेल नै परेका थिए। गगन ओली सेनासँग सम्झौता गर्न जङ्गी अड्डामा नै गएका थिए। आन्दोलनमा सक्रिय रुपमा खटेर देशलाई निकास दिनुपर्छ भन्ने विचार राखेका उनीहरू रास्वपाको जेनजी उम्मेद्वार छनोटमा परेनन्।
चुनाव लड्न उमेर पुगेका जेनजीहरूले प्रत्यक्ष चुनाव लड्ने सोचका साथ केन्द्रीय सदस्य नबन्ने भनेका थिए। रास्वपाले सबै जेनजीलाई समेट्ने हिसाबले कसैलाई केन्द्रीय सदस्य, कसैलाई समानुपातिक र कसैलाई प्रत्यक्ष उम्मेदवारीको लागि टिकट दिने बताएको थियो।
काउन्सिल अफ जेनजीका लुम्बिनी प्रदेश सह–संयोजक गगन ओली, बागमती प्रदेश सह–संयोजक अमृत अधिकारी र जेनजी मुभमेन्ट अलाइन्सका मनिष ज्ञवाली टिकट पाउने आशमा रास्वपाको कार्यालयमा बसेका थिए।
केही समयअगाडि सुदन गुरुङ नेतृत्वको काउन्सिल अफ जेनजी अन्तर्गत अफसाना बानुको नेतृत्वमा रहेको बागमती प्रदेश समितिले विभिन्न जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरेको थियो। जसमध्ये अधिकारी ललितपुर क्षेत्र नम्बर–२ बाट सिफारिस भएका थिए।
बानु भने समानुपातिक सूचीको मुस्लिम क्लस्टरतर्फ पहिलो नम्बरमा छिन्। आफ्नो समूहबाट सिफारिस भइसकेपछि अमृतले रास्वपाको प्रक्रिया अनुसार फाराम पनि भरेका थिए। अधिकारीको घर चितवन क्षेत्र नम्बर–३ भए पनि सो क्षेत्रबाट रास्वपाका अन्यले उम्मेदवारी लिने भएकाले र आफ्नै अध्ययन तथा कार्यक्षेत्र ललितपुरमा नै भएको कारण उनी त्यहीँबाट चुनाव लड्न खोजेका थिए।
तर अमृत अधिकारी सिफारिस भएको ठाउँबाट पूर्वसञ्चारमन्त्री जगदीश खरेलले टिकट पाए।
अमृत भन्छन्, 'अहिले जेनजी भनेर जो आन्दोलनमा नै नहोमिएका, आन्दोलनको बेलामा घर बसेकाहरूको उम्मेद्वारी हुँदै गर्दा आन्दोलनको रणभूमिमा बसेका साथीहरू धेरै नअटाउँदा हामीलाई अलिकति अचम्म लागेको छ तर हामीलाई कुनै गुनासो छैन, आन्दोलनको पक्षमा र भ्रष्टचार विरोधी अभियानमा हामी निरन्तर अघि बढिराख्छौँ।'
काउन्सिल अफ जेनजीकै लुम्बिनी सह–संयोजक गगन ओली आफ्नो थातथलो भएको स्थान दाङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बन्न चाहन्थे। आइतबारदेखि टिकट कसले पाउने भन्ने कुरा नटुङ्गिएसम्म दुई दिन उनी घण्टीघरमा कतिबेला नाम आउँछ भनेर पालो पर्खिरहे। अन्त्यमा दाङ–१ बाट देवराज पाठकले उम्मेदवारी पाएपछि उनी आफ्नो बासस्थानतिर फर्किए।
‘आजसम्म हामी आन्तरिक प्रतिस्पर्धामा थियौँ, अब त साथीलाई जिताउनै पर्यो नि, त्यो भन्दा अरु के नै विकल्प छ र!’ ओलीले नेपालखबरसँग भने।
जेनजी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा आफूहरूले मौका नपाएको भन्दै कतिपय जेनजीले गुनासो गरे। उमेर पुगेका जेनजीहरूलाई पनि नसमेटिएको उनीहरूको भनाइ छ।
‘स्ट्यान्ड लिनुपर्ने मान्छेहरूले नै स्ट्यान्ड नलिएपछि जेनजी अलिकति पछाडि परे। हाम्रो विषयमा त सुदन दाइले नि स्ट्यान्ड लिनुपर्ने हो नि त। जेनजीहरूसँग छुट्टै सम्झौता गरिएन, बालेनको टिमभित्रै पर्यौँ। त्यसैले अन्तिममा रास्वपाले नै दबायो हामीलाई,’ गगन भन्छन्, ‘अब समर्थन नगरेर पनि विकल्प छैन, कि त फेरि सडकमा जानु पर्यो, त्यहाँ गएर पनि हाम्रो हालत सुध्रने होइन, फेरि आन्दोलन नै हो।’
काउन्सिल अफ जेनजीका मनिष ज्ञवाली रूपन्देही–५ बाट उम्मेदवारमा प्रस्तावित भएका थिए। सोही ठाउँबाट चुनाव लड्ने सोच बनाएका उनी पनि दुई दिन पार्टी कार्यालयमा बसे। रास्वपाबाट उम्मेदवारीको लागि उमेर पुगेकोले फाराम भरेका ज्ञवाली टिकट पाउने आशमा थिए। उनी पनि रित्तै फर्किएका छन्।
ललिपप दिएर बच्चालाई भुलाएजस्तो गरियो : प्रकाश खड्का
काउन्सिल अफ जेनजीका कर्णाली प्रदेश संयोजक प्रकाश खड्का पनि सुर्खेतबाट प्रत्यक्ष चुनाव लड्ने सोचमा थिए। तर टिकट नपाएपछि उनी आक्रोशित छन्।
‘रास्वपाको त्यत्रो मापदण्ड बनाएर दुनियाँदारी नाटक गरेर अहिले यस्तो गर्यो,’ उनी भन्छन्।
रास्वपाको फाराम भर्ने प्रणाली भुलाउने तरिका मात्र भएको उनको आरोप छ।
उनी भन्छन्, ‘बच्चालाई ललिपप दिएजस्तै भुलाएका मात्र हुन्, मलाई पहिल्यै थाहा थियो जेनजीलाई यस्तै गर्छन् भनेर। जेनजी भनेर मान्छेलाई कार्टुन बनाइदिने?’
जेनजी अभियन्ता मनिष खनाल र टासी ल्हाजोमले भने टिकट पाएका छन्। खनाललाई रास्वपाले नवलपुर क्षेत्र–२ बाट उम्मेदवार बनाएको छ। अधिवक्ता समेत रहेका खनालले जेनजी आन्दोलनलाई संस्थागत गर्नको लागि सरकारसँगको सम्झौता ड्राफ्ट तयार गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
ल्हाजोम रास्वपाको समानुपातिकको आदिवासी जनजातितर्फ पहिलो नम्बरमा थिइन्। तर उनको नाम हटाइएको थियो। त्यसपछि उनी असन्तुष्ट थिइन्।
हाल टासीले हुम्लाबाट प्रत्यक्ष चुनाव लड्नका लागि टिकट पाएकी छिन्।
Shares

प्रतिक्रिया