विगतमा गुन्डागर्दी र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका मिलन गुरुङ उर्फ 'चक्रे मिलन' संसदीय राजनीतिको मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेको टिकट लिएर चुनावी दौडमा होमिएका गुरुङको प्रस्तावकमा प्रेम गुरुङ र समर्थकमा बाबुराम थापा रहेका छन्। सोही क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। बौद्धिक राजनीतिको पहिचान बनाएका भट्टराई र आपराधिक पृष्ठभूमिका गुरुङबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
दुई दशकअघिसम्म काठमाडौंका सडकमा समूहगत भिडन्त सक्रिय चक्रे मिलनको नाम प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा समेत थियो। ज्यान मार्ने उद्योगदेखि अवैध सम्पत्ति आर्जनसम्मको अभियोगमा उनी धेरैपटक जेल परेका थिए। विशेषगरी अर्का ग्याङस्टर 'दीपक मनाङे' सँगको ग्याङ वार र २०६१ सालमा भएको साङ्घातिक आक्रमणले उनलाई चर्चा र विवादको शिखरमा पुर्याएको थियो ।
प्रहरी प्रशासनको नजरमा 'कुख्यात' रहेका गुरुङले पछिल्लो समय राजनीतिक दलको 'ओत' खोज्ने रणनीति अपनाएका थिए। केही वर्षयता एमालेका शीर्ष नेताहरूसँगको उठबस र पार्टीका कार्यक्रममा सक्रियता बढाएका उनले अन्ततः गोरखा जस्तो राजनीतिक रूपमा सचेत जिल्लाबाट टिकट हात पार्न सफल भएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गुरुङले आफ्नो विगतलाई 'परिवर्तित जीवन' को संज्ञा दिँदै अब जनताको सेवामा लाग्ने दाबी गरे। यद्यपि, कानुनी कठघराबाट बच्न राजनीतिक खोल ओढ्ने प्रवृत्तिका रूपमा उनको उम्मेदवारीलाई नागरिक समाजले आलोचना गरेको छ।
Shares

प्रतिक्रिया