फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले आज उम्मेदवारी दर्ता गराइरहेका छन्।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन कार्यालयमा बिहान १० बजे खुला गरिएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ।
यो खबर तयार पार्दासम्म कम्तीमा १० जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन्। उनले पनि उम्मेदवारी दर्ता गराइरहेका छन्।
यस्तै भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएकी रेनु दाहालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चितवन-३ मा उम्मेदवारी दर्ता गराएकी छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेता कमल थापाले काठमाडौँ ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
उनले बिहान जुलुससहित आयोगको कार्यालय टोखा नगरपालिकाको समाज भवनमा पुगेर उम्मेदवारी दिएका हुन्।
यसअघि मकवानपुरवाट निर्वाचन लड्दै आएका थापा यसपटक काठमाडौँबाट चुनाव लड्ने भएका हुन्।
यस्तै, भक्तपुर २ मा नेकपा एमालेका सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखालदे पनि उम्मेदावारी दर्ता गराइसकेका छन्।
यस्तै भक्तपुर-२ मा रास्वपाबाट राजीव खत्रीले उम्मेदवारी दर्ता गराएका छन्।
उता रोल्पामा नेकपाबाट वर्षमान पुनले उम्मेदवारी दर्ता गराएका छन् भने आजै मन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै धनुषा-३ मा रास्वपा प्रवक्ता मनीष झाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।
अहिले देशभर उम्मेदवारी दर्ताको क्रम धमाधम चलिरहेको छ।
Shares

प्रतिक्रिया