प्रतिनिधि सभाको निर्वाचनमा दाङ-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी उम्मेदवार बन्ने भएका छन्।
युवा नेता सुवेदीले नेपाली कांग्रेसका नेता दीपक गिरी र नेकपा (एमाले) का घनश्याम पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन्। जहिल्यै परिवर्तनको पक्षमा रहेको दाङले यस पटक रास्वपालाई चुन्ने सुवेदीको विश्वास छ। ‘कांग्रेस र कम्युनिस्टको दशकौँ लामो विरासत अब भत्किनेछ, दाङबाटै परिवर्तनको घण्टी बज्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भने।
दाङको दंगीशरण-४, मौलीका सुवेदी युवामाझ लोकप्रिय छन्। विद्यार्थी जीवनदेखि नै समाजसेवामा होमिएका सुवेदी सामुदायिक रेडियो हापुरेका संस्थापकसमेत हुन्।
युवा अधिकारको संरक्षण र प्रवर्द्धनमा सक्रिय उनी नेपाल सरकारसँग सहकार्य गर्दै राष्ट्रिय युवा परिषद्को स्थापनामा भूमिका खेलेका थिए।
क्यानडाको सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट ‘डेभलपमेन्ट लिडरसिप’मा डिप्लोमा गरेका उनले सार्वजनिक प्रशासन र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।
उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। त्यतिवेला कांग्रेसका दिपक गिरीसँग पराजित भएका थिए।
Shares

प्रतिक्रिया