कारोबार


मेची भन्सारबाट ६ महिनामा निर्यात भयो ७ अर्ब बढीको अलैँची

मेची भन्सारबाट ६ महिनामा निर्यात भयो ७ अर्ब बढीको अलैँची

रासस
माघ ५, २०८२ सोमबार १३:३६, झापा

पूर्वी नाका काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ।

साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए।

 गत आवको साउनदेखि पुससम्ममा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो। कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालू आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ।

चालू आवको छ महिनामा ७६ करोड पाँच लाख तीन हजार मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ। गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ।

भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ। चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ। चालू आव २०८२/८३ को छ महिनामा ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र नौ करोड १२ लाख ८७ हजार मूल्यको मुसुरो दाल निर्यात भएको छ। 

गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ।अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ।

चालू आवको छ महिनामा दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्य बराबरको चिया र एक अर्ब नौ करोड ७४ लाख तीन हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ। गत आवको सोही अवधिमा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार मूल्य बराबरको चिया र एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो।  

यसैगरी, चालू आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाइँले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad