राष्ट्रियसभाका तीन जना सदस्यले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित पदबाट राजीनामा दिएका छन्। नेकपाका वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी भगवती न्यौपानेले सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन्।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार उनीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ । 'उहाँहरूले व्यक्तिगत कारण र आगामी निर्वाचनको तयारीका लागि भन्दै राजीनामा दिनुभएको हो,' गिरीले नेपालखबरसँग भने।
राजीनामा दिने तीनैजना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै थियो।
प्रवक्ता गिरिका अनुसार तीनै जनाको राजीनामा स्वीकृत भएको छ। 'अध्यक्षज्यू समक्ष राजीनामा दिनुभएको थियो। सदनको आजको सत्र समाप्त भएपछि राजीनामा स्वीकृत भएको जानकारी नेपाल सरकार र निर्वाचन आयोगलाई लेखी पठाइएको छ', प्रवक्ता गिरीले नेपालखबरसँग भने।
कानुनी प्रावधानअनुसार लाभको पदमा बहाल रहेको व्यक्ति प्रतिनिधिसभा उम्मेदवार बन्न नपाउने भएपछि उनीहरूले कार्यकाल सकिनु केही अघि पद त्याग गरेका हुन् ।
गत २०७४ को आम निर्वाचनमा पराजित भएपछि राष्ट्रियसभामा प्रवेश गरेका नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठ यसपटक प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभामा पुग्ने दाउमा छन्।
२०७४ को निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका नेता गौतम तत्कालीन राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए। त्यस्तै गोरखाबाट पराजित भएपछि राष्ट्रियसभामा छिरेका नारायणकाजी श्रेष्ठ यसपटक सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा छन्।
एमाले नेतृ भगवती न्यौपाने भने तनहुँ-१ बाट निर्वाचन लड्ने गरी मैदानमा उत्रिँदै छिन्।
Shares

प्रतिक्रिया