राजनीति


मतदाता मधेसतिर, पहाड उक्लिए एमाले नेता

मतदाता मधेसतिर, पहाड उक्लिए एमाले नेता

चुनाव लड्न तराई छोडेर पहाडी क्षेत्र रोजेका एमाले नेताद्वय विष्णुप्रसाद पौडेल र भानुभक्त ढकाल।


नेपालखबर
माघ ४, २०८२ आइतबार १७:२७, काठमाडौँ

पछिल्लो समय पहाडबाट तराई र शहरी क्षेत्रमा बसाइँराई गर्ने नेपालीको संख्या बढ्दै गएको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर जस्ता जिल्लाबाट पनि सुविधा खोज्दै मोरङ, सुनसरी, झापा र उदयपुर जस्ता समथर फाँटमा झर्ने संख्या बढिरहेको छ।

आगामी फागुन २१ गतेको लागि तय भएको प्रतिनिधि सभाको लागि मतदाता बढेका ठाउँमा होइन, जनता घट्दै गएको क्षेत्रमा नेता पुग्न चाहेको देखिन्छ। त्यसैमध्येमा पर्छन् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल।

एमालेले २३ क्षेत्रबाहेक सबैमा उम्मेदवार टुंगो लगाउँदा पौडेलले आफ्नो परम्परागत निर्वाचन क्षेत्र रूपन्देही-२ छाडेका छन्। बुटवललाई आफ्नो राजनीतिक आधारभूमि बनाएका पौडेलले यसपटक भने रूपन्देहीको मधेस र शहर छाडेर पाल्पा क्षेत्र नम्बर २ उक्लिएका छन्।

२०६४ सालदेखि निरन्तर रूपन्देहीबाट जित्दै आएका पौडेल किन पहाड उक्लिए प्रष्ट खुलाइएको छैन। शनिबार बसेको सचिवालय बैठकले उनलाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै, एमाले सचिव भानुभक्त ढकालले पनि यस पटक निर्वाचन क्षेत्र बदलेका मात्र छैनन्, मधेसको सुविधा छोडेर पहाड चढेका छन्। २०७० मा समानुपातिकबाट सांसद बनेका उनले २०७४ मा मोरङ-३ बाट चुनाव जितेका थिए।

तर, २०७९ सालको प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका डा. सुनील शर्मासँग ढकाल फराकिलो मतान्तरले पराजित भएका थिए।

यसपटक ढकालले पुरानो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने हिम्मत गरेनन् र आफ्नै जन्मथलो तेह्रथुम उक्लिएका छन्। तेह्रथुमबाट सर्वसाधारण बसाइँ सरेर मोरङ झर्ने क्रम तीव्र भइरहँदा ढकाल पहाड उक्लिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad