राजनीति


झापा–५ मा प्रचण्डले ओलीसँग युवा नेता रञ्जित तामाङ भिडाउने

झापा–५ मा प्रचण्डले ओलीसँग युवा नेता रञ्जित तामाङ भिडाउने

युवा नेता रञ्जित तामाङलाई झापा–५ मा निर्वाचन लड्न उम्मेदवारको टिकट दिँदै संयोजक प्रचण्ड


नेपालखबर
माघ ३, २०८२ शनिबार ११:५१, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ। 

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर नेकपाका केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई उम्मेदवारको टिकट दिएका हुन्। 

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। 

तामाङले झापा–५ को टिकट आफूले पाएको बताए। संयोजक प्रचण्डले जितको शुभकामनासहित आफूलाई टिकट प्रदान गरेको जानकारी उनले दिए । 

‘प्रचण्ड कमरेडले झापा–५ को टिकट दिनुभयो’, तामाङले भने, ‘जितको अग्रिम शुभकामनासहित जसरी पनि जित्नुपर्छ भन्नुभएको छ।’ 

माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ प्रखर वक्ताका रुपमा चिनिन्छन्। उनी युवाहरु माझ लोकप्रिय पनि छन्। 

झापा–५ एमाले अध्यक्ष केपी ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। सो क्षेत्रबाट ओली ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका छन्। 

०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा उनले जित्दै आएका छन्। यसपटक काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पनि झापा–५ बाट उठ्ने चर्चाले सबैको ध्यान त्यतातिर खिचिएको छ।

तामाङले आफूलाई 'स्थानीय उम्मेदवार' को रूपमा प्रस्तुत गर्दै चुनावी अभियान शुरू भएको घाेषणा गरेका छन्। पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्री भनिएकाहरूको सम्भावित भिडन्तको चर्चाका बीच उनले आफू यसै माटोमा जन्मी–हुर्केको र जनताको हरेक सुखदुःखमा साथ रहेको दाबी गरेका छन्।

शुभेच्छुकहरूले अन्य क्षेत्रबाट चुनाव लड्न दिएको सुझावलाई नकार्दै तामाङले स्थानीय मतदातासँग आफ्नो अटुट सम्बन्ध रहेकाले झापा ५ नै रोजेको स्पष्ट पारेका छन्।

बाहिरबाट आउने नेताहरू भन्दा स्थानीय उम्मेदवार हुनुको नाताले मतदाताले आफूसँग सिधा संवाद गर्न सक्ने र दुःखसुख साट्न सहज हुने उनले बताए।

आफूलाई भावी प्रधानमन्त्री घोषणा गर्नेहरूका बीचमा स्थानीय मुद्दा बुझेको युवा उम्मेदवारको आवश्यकता रहेकोले आफू उम्मेदवार बनेको उनको भनाइ छ।

झापा जिल्लाको इन्चार्ज भएरसमेत पार्टी काम गरिसकेका तामाङले आफू स्थानीय विकास र संकटमा सधैँ जनताको साथमा रहेकाले चुनावी अभियानमा कुनै कठिननाइसमेत विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad