नेपाली कांग्रेस गगन थापा समूहका महामन्त्री प्रदीप पौडेलले आफूहरू विधान अनुसार अगाडि बढेको जिकीर गर्दै विधान कार्यान्वयन गर्दा आन्दोलन गर्न मिल्छ भनी प्रश्न गरेका छन्।
कांग्रेसको आधिकारिकता विषयमा विवाद चलिरहँदा नेता पौडेलले पार्टीका महाधिवेशन प्रतिनिधिले विधान कार्यान्वयन गरेको दाबी गरेका हुन्।
निर्वाचन आयोग परिसरमा उनले सञ्चारकर्मीसँग भने, ‘लोकतान्त्रिक प्रक्रियामा लड्नुभएको आदरणीय नेताहरूले विधि अनुसार चल्यो भने आन्दोलन गर्छु भन्न मिल्छ? विधान कार्यान्वयन भयो भने आन्दोलन गर्छु भन्न मिल्छ? त्यसकारण आदरणीय नेताको सम्मान गर्दै म के भन्छु भने त्यसो नभन्नुस्। नेपाली कांग्रेस विधि अनुसार चल्यो। विधान अनुसार महाधिवेशन प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गर्दा आन्दोलन गर्छु भन्न मिल्छ र?’
गगन समूह आधिकारिकता माग गर्दै शुक्रबार आयोग पुगेपछि पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले दबाबका आधारमा निर्णय गरे देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए।
लगत्तै देउवा समूह पनि आयोग पुगेको थियो। दुबै पक्षको सम्भावित भिडन्तका कारण आयोग परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।
नेता पौडेलले आफूहरूको भिडन्त गर्ने मनसाय नभएको बताए। बरु पार्टीलाई सच्याउँदै अघि बढेको उनको जिकीर थियो।
‘हाम्रो कुनै पनि भिडन्त गर्ने मनसाय छैन’ पौडेलले प्रश्न गरे, ‘बैठक कति महिना चल्यो? दुई महिना। आदरणीय नेताहरूले विधान नबुझ्नुभएको पनि होइन। सच्चिने भनेको के? विधानलाई कार्यान्वयन होइन? त्यसकारण हामीले विधान अनुसार अगाडि बढेका छौँ।’
Shares

प्रतिक्रिया