नेपाली कांग्रेस अहिले दुई समूहमा विभाजित छ। कांग्रेसमा दुई जना सभापतिसहित दुई वटा कार्यसमिति छन्। दुवै समूह अहिले को आधिकारिक भन्ने लडाइँमा निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा र त्यसअघिका सभापति शेरबहादुर देउवा समूहले आयोगमा आ–आफ्नो दाबी पेश गरेपछि यो विवाद कांग्रेसमा मात्रै सिमित छैन।
कांग्रेसबाहिरका दलहरूले पनि पक्ष र विपक्षमा टिप्पणी गरिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली शेरबहादुर देउवा समूह आधिकारिक हो भन्नेमा खुलेर लागेका छन्। तर उनकै दलका उपमहासचिव योगेश भट्टराई भने गगन थापा समूहको पक्षमा छन्।
उनले सामाजिक सञ्जालमार्फत देउवालाई ४ वर्ष पहिले एमाले विभाजनमा खेलेको भूमिका समेत स्मरण गराएका छन्। योगेश लेख्छन्, ‘तितो स्मरण होसः संविधान विपरित दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) लाई विभाजित गरिँदा शेरबहादुर दाइ नै प्रधानमन्त्री हुनुहुन्थ्यो। संसदमा एक महिना नारा लगाएको मलाई सम्झना छ। सभामुखले सुन्नै सुन्नु भएन। त्यतिवेला हामीले भनेका थियौँ- प्रधानमन्त्रीज्यू कुनै वेला तपाईलाई पनि आईपर्ला है?’
अहिले विभाजनको अप्ठ्यारोमा देउवा परेका छन्। तर योगेश भने निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता प्रदान गर्नु पर्ने पक्षमा छन्।
समयको वेग र जनचाहनालाई सम्मान गरौँ भन्दै योगेश लेख्छन्, ‘लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको कुरा हो। पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनका आधारमा यसको कÞानुनी छिनोफानो हुने नै छ। राजनीतिक वैधता र जनचाहना निर्णयको सर्वोपरी सवाल हो। यो नेपाली कांग्रेसको आन्तरिक मामला हो। हामीले धेरै बोल्नु राम्रो होइन। कुनै उपायले कांग्रेस पुनः एकहुने अवस्था बनोस् कांग्रेसीजनमा मेरो शुभकामना छ।’
उनले २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालिन सभामुखको भूमिका के थियो भन्दै प्रस्न पनि उठाएका छन्। टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकास्न पनि उनले अनुरोध गरेका छन्।
Shares

प्रतिक्रिया