नेकपा (एमाले)ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ।
शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई सहज वातावरण बन्न नसकेको बताएका हुन्। ‘निर्वाचनको सहज वातावरण बनेको छैन। विशेष गरी पैसाको चललेख र अघि भनेजस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ?,’ उनले प्रश्न गरे।
उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ भनेर प्रश्न गरेका थिए।
‘निर्वाचनका लागि उम्मेदवार ढुक्क साथ जनतामा जान पाउने र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भइसकेको छैन,’ उनले भने।
निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराए। सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको उनको भनाइ थियो।
‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो? यो आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि मोनटरिङ सिष्टम प्रभावकारी नहुदा यो प्रभावकारी हुन सकेको छैन,’ उनले भने।
Shares

प्रतिक्रिया