नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीलाई निर्वाचनमा जिताउनु पर्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्री कार्की तथा विभिन्न मन्त्रीले सार्वजनिक भाषणमा यस्ता खालको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको नेता पुनको भनाइ थियो। उनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने कुरामा पनि निर्वाचन आयोगलाई ध्यान दिन सुझाव दिए।
‘राज्य शक्ति, राज्यको स्रोत, साधनहरू दुरुपयोग नहोस्, यसमा असाध्यै ध्यान जाओस्, निर्वाचन आयोगको। हामी बाहिरबाट सुनिरहेका छौँ–प्रधानमन्त्री, मन्त्रीजीहरूको यस्तालाई जिताउनु पर्दछ भनेर भनेको। यस्तालाई हराउनुपर्छ भनेर भनेको भाषण सुनिरहेका छौँ,’ पुनले प्रश्न गरे, ‘यसमा कसरी हेर्नुहुन्छ?’
शुक्रबार निर्वाचन आयोगको आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो मेकानिजमको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए।
‘अहिले गैरदलीय सरकार छ। विभिन्न तहका सरकारहरू छन्। प्रदेश सरकार, स्थानीय सरकार। यसमा आचारसंहितामा राम्रोसँग राखिएको छ। तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन? यसमा निर्वाचन आयोगको भरपर्दो मेकानिज्म बनाउनु पर्ने हुन्छ,’ पुनले भने।
त्यस्तै, सूचना प्रविधि क्षेत्रको अनुगमन गर्नुपर्ने विषयमा पनि नेता पुनले आयोगको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया