राजनीति


राष्ट्रपतिलाई मायाको चिनो ‘बुट्टेनली’

राष्ट्रपतिलाई मायाको चिनो ‘बुट्टेनली’

नेपालखबर
माघ १, २०८२ बिहिबार २१:५८, बागलुङ

हिजोआज विभिन्न कार्यक्रममा मायाको चिनोका रुपमा आयातित वस्तु बढी प्रयोग हुन्छन्। ती वस्तु न प्रयोग गर्न मिल्छन्, न त कुनै पहिचान मौलिकता झल्काउँछन्। पछिल्लो समय यदाकदा स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिने प्रचलन सुरु भएको छ।

बागलुङको एक विद्यालयले मौलिक संस्कृतिको जगेर्ना र संरक्षणका लागि राष्ट्रपतिलाई नै ‘बुट्टेनली’ मायाको चिनोका रुपमा दिएको छ।

आज बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्न आएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘बुट्टेनली’ मायाको चिनोका रुपमा दिएको हो।

थरिथरिका आकृति खोपेर बनाइएको बुट्टेनली जब विद्यालयका अध्यक्ष रामबहादुर केसीले राष्ट्रपति पौडेलको हातमा थमाए, तब सुरक्षाकर्मीसहित कार्यक्रमका सहभागीहरू अचम्ममा परे। 

सो बुट्टेनली करिब दुई वर्ष पुरानो मौलिकता हो। बाँस तथा निगालोको नलीमा भगवान, चराचुरुङ्गी तथा विभिन्न आकृति बनाउने गरिन्छ। तर पछिल्लो समय बागलुङमा बुट्टेनली बनाउने मिस्त्रीहरु कमै छन्। बागलुङ जिल्लाकै पहिचान बनेको बुट्टेनली बनाउनेको सङ्ख्या घट्दै गएपछि लोप हुने अवस्थामा पुगेको छ।

विद्यालयका अध्यक्ष केसीले पाहुनालाई पहिचान झल्काउने वस्तु उपहार दिँदा जिल्लाको शिर उँचो हुने बताए। बुट्टेनलीले बागलुङको मौलिकता र पहिचान झल्काउने हुँदा राष्ट्रपतिलाई उपहार दिएको उनको भनाइ छ। यसले बुट्टेनली उत्पादन र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष केसी बताउँछन्। 

अध्यक्ष केसीले भने, ‘हामीले देशको प्रमुखलाई बागलुङको पहिचान झल्काउने बुट्टेनली मायाको चिनोका रुपमा दियौँ, यसले हाम्रो गरिमा, पहिचान र संस्कतिलाई प्रवद्र्धन गर्छ भन्ने विश्वास छ, पहिले बुट्टेनलीको निकै बढी चर्चा हुन्थ्यो, तर अहिले पाउन पनि मुस्किल पर्छ।’

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले कालीगण्डकीमा पाइने शालिग्रामको राष्ट्रपति पौडेललाई उपहार दिएका थिए। विश्वको एकमात्र नदी कालीगण्डकीमा मात्रै पाइने शालिग्रामको प्रवर्द्धनका लागि मायाको चिनोका रुपमा शालिग्राम दिएको प्रमुख श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad