राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अधिवेशनको लागि तयार पारिएको सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षको अवलोकन गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ औँ अधिवेशन आह्वान गरेसँगै बुधबार अध्यक्ष दाहालले तयार पारिएको सभाकक्षको अवलोकन गरेका छन्।
अवलोकनपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले पुरानै संसद भवनकक्षबाट सभा सञ्चालन गर्न पाइने भएपछि गर्वको अनुभूति भएको बताए।
उनले भने, ‘अब शुरु हुन लागेको राष्ट्रिय सभाको अधिवेशन नियमित अधिवेशन नै हो। यो हाम्रो १९औँ नियमित अधिवेशन बन्छ। यो अधिवेशनमा पनि हाम्रा नियमित कार्यक्रमहरु नै अगाडि बढ्छन्। यो ऐतिहासिक ठाउँमा आएर यो अधिवेशन गर्दाखेरी खुशी नै छौँ। उताको पीडा त आफ्नो ठाउँमा छ। त्यहाँ सबै जलेर नष्ट भयो। त्यति हुँदाहुँदै पनि अधिवेशन गर्न पाउँदा गर्वको अनुभूति भएको छ।’
उनले सभाको एक महिनाको कार्यतालिका तयार गर्न शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने जानकारी दिए।
अध्यक्ष दाहालले सभामा राष्ट्रिय सभामा विचारधिन विधेयक, सार्वजनिक महत्त्वका सूचना तथा जनसरोकारका विषयमा सरकारसँग छलफल गरिने बताए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका छन्।

प्रतिक्रिया