नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ पठाएका छन्।
बुधबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालयमा संस्थापन पक्षका नेताहरूसँग छलफल गरी खड्काले जवाफ पठाएका हुन्। महामन्त्री शर्माले पठाएको आठ बुँदे प्रस्तावमा पाँच बुँदा मान्न सकिने र तीन बुँदा मान्न नसकिने खड्काले जवाफ पठाएका हुन्।
कार्यवाहक सभापति खड्काले पठाएको जवाफमा सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने र निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग मान्न नसकिने उल्लेख छ।
कार्यवाहक सभापति खड्काले पाँच वटा माग मान्न सकिने जवाफ दिएका छन्। महामन्त्री शर्माले पठाएको प्रस्तावका विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने, आगामी चुनावमा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने माग मान्न सकिने जनाएका छन्।
त्यस्तै, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि वितरण हुने टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनका पेश भएका प्रतिवेदनहरूलाई कांग्रेसको पूँजीका रुपमा ग्रहण गर्नुपर्ने माग पनि मान्न संस्थापन पक्ष तयार भएको छ।
महामन्त्री शर्माले खड्कालाई ह्वाट्सएपमा प्रस्ताव पठाएका थिए। कार्यवाहक सभापति खड्काले पनि ह्वाट्सएपमै शर्मालाई जवाफ पठाएका छन्।
खड्काले आठ मिनेटभित्र जवाफ दिन भनेका छन्। त्यसपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेर अन्य प्रक्रिया अघि बढाइने खड्काले पठाएको जवाफमा उल्लेख छ।
Shares

प्रतिक्रिया