नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेका छन्।
देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सो समिति गठन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सो समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरेका व्यक्तिहरु समेटिएकाे छ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतको संयोजनमा रहेको सो समितिका सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले छन्।
‘समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। ‘समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने छ।’

प्रतिक्रिया