राजनीति


परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैनः प्रचण्ड

परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैनः प्रचण्ड

नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:४६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गरे। 

उनले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहोर्याए। उनले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरुप अघि बढ्ने बताए।

उनले भने,‘परम्परागत ढंगले चल्ते चलाते ढंगले मात्रै मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन। राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रेको छ यो समयमा राष्ट्रलाई थप एकतावद्ध गर्ने, एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टीले पार्टी एकता प्रक्रियालाई लियौँ।’

उनले मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरुलाई एकठाउँमा ल्याइएको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad