नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर फर्केका नेताहरूले विशेष महाधिवेशनले नेतृत्व चयन गर्न नसक्ने तर्क गरेका छन्।
कांग्रेस सभापति देउवाले सोमबार अपराह्न आफू निकट नेताहरूसँग छलफल गरेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा जारी विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेसम्मको कार्यविधि पारित गरिसकेको छ। त्यसैअनुसार, विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रस्तावमा समूहगत छलफल गरिरहेको छ।
कांग्रेस विभाजनतिर गएको चर्चा चलिरहेका वेला सभापति देउवाले आफू निकट नेतालाई बोलाएर छलफल गरेका हुन्। छलफलमा सहभागी कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले अहिले देखिएको संकटका विषयमा छलफल भएको बताए।
देउवा निवासबाट फर्किँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा सह-महामन्त्री यादवले आउँदो वैशाखमा हुने १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रतिक्रिया दिए। ‘अहिले पार्टीको कुनै भेला वा अधिवेशनको सान्दर्भिकता छैन,’ यादवले भने, ‘आगामी वैशाखमा हुने १५औँ महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन हुन्छ, केन्द्रीय कार्यसमितिको चयन हुन्छ, केन्द्रीय पदाधिकारी चयन हुन्छ।’
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आउँदो वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको उनले स्मरण गराए। त्यसैका आधारमा वैशाखामा नेतृत्व परिवर्तन गर्ने गरी अहिले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्नेमा सभापति देउवाले जोड दिएको उनको भनाइ थियो। ‘एकाढिक्का भएर पार्टीलाई जोगाउने हो। सबैलाई एकढिक्का रहन आह्वान गर्ने हो,’ यादवले भने।
त्यस्तै, सभापति देउवासँग छलफल गरेर फर्केका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि कांग्रेसको नेतृत्व आगामी वैशाखमा फेरिने बताए। कांग्रेसको नीति र नेतृत्व १५औँ महाधिवेशनबाट परिवर्तन हुने बताउँदै केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विरुद्ध कसैले जान नहुने उनको भनाइ थियो।
विशेष महाधिवेशन पक्षधरलाई कारबाही हुन्छ त भन्ने प्रश्नमा नेता कार्कीले भने सहमतिमै जोड दिए। ‘अहिले मुलुक गम्भीर अवस्थामा छ र पार्टी पनि गम्भीर अवस्थामा छ,’ विशेष महाधिवशेन पक्षधरलाई इंगित गर्दै कार्कीले भने, ‘सहमति, संवाद र एकताको ढोका सधै खुला छ।’
देउवा निवासमा भएका छलफलमा कांग्रेस नेता डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतलगायत नेता सहभागी थिए।
Shares

प्रतिक्रिया