नेपाली कांग्रेसमा विभिन्न पेशागत र व्यावसायिक क्षेत्रका व्यक्तिलाई ‘ल्याट्रल इन्ट्री’ को व्यवस्था गरिने भएको छ।
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गर्ने प्रस्ताव गरेका हुन्। यसले विभिन्न क्षेत्रमा चर्चित व्यक्तिले कांग्रेसको क्रियाशील सदस्य नभएर पनि सिधै माथिल्लो तहमा प्रवेश पाउने बाटो खुल्नेछ।
थापाको प्रस्तावमा भनिएके छ, ‘पेशागत र व्यावसायिक क्षेत्रमा रहेर लामो समय योगदान दिनु भएका व्यक्तित्वलाई पार्टीको विभिन्न संरचनामा आबद्ध गर्न र विभिन्न तहका निर्वाचनमा पार्टीका तर्फबाट निश्चित प्रतिशत उम्मेदवार बनाउने गरी छड्के प्रवेश (ल्याट्रल इन्ट्री) को उपयुक्त प्रक्रिया सम्बन्धी नयाँ व्यवस्था गरिनेछ।’
राज्यको जिम्मेवारी वा प्रशासकीय पदको अवधि तोक्ने प्रस्ताव गरिएको छ। त्यस्तै, समानुपातिकमा एक व्यक्ति एक पटक मात्रै अवसर पाउने व्यवस्था गरिने भएको छ।
‘पार्टीमा प्रवेशको मापदण्ड र नीति भए जस्तै पार्टीको तर्फबाट स्थानीय, प्रदेश र संघीय तहमा राज्याको कुनै पनि जिम्मेवारी वा शासकीय पदको अवधि तोकिनेछ,’ थापाको प्रस्तावमा भनिएको छ, ‘एउटै व्यक्ति पटकपटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्पराको अन्त्य गर्न पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सिमित व्यक्तिले पटकपटक अवसर पाउने अवस्थालाई रोक्नको लागि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर एक व्यक्तिका लागि एक पटक मात्र हुने गरी व्यवस्था गरिनेछ।’
Shares

प्रतिक्रिया