नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब नयाँ ढंगले जाने मुडमा रहेको बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी र देशलाई बलियो बनाउन नयाँ ढंगले जानुपर्ने बताए। त्यसका लागि आफूहरू रहेको बताउँदै शर्माले भने, ‘हामी नयाँ ढंगले जाने मनोविज्ञान र मुडमा छौँ। नयाँ आशा जगाएर जान्छौँ।’
विशेष महाधिवेशनबाट नविन सोचको खोजि गरे। अघि बढ्ने बताएका छन्। कांग्रेसबाट यसको सुरुवात गर्ने बताउँदै उनले भने, ‘देशलाई शासन मात्रै होइन, सुशासन पनि दिन्छौँ।’
जेनजी आन्दोलनपछिको अवस्थामा नेतृत्व बदलिन नचाहेको उनको भनाइ थियो। अब आफू पनि बदलिन र देशलाई पनि बदल्नुपर्ने उनले बताए। ‘बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुछ,’ शर्माले भने, ‘हामी बद्लिन पनि सक्छौँ, देशलाई बदल्न पनि सक्छौँ। कांग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ।’
जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनासँग समाजलाई पनि जोड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। ‘ध्वंस भएका भवन मात्रै होइन, मनलाई पनि जोड्न विशेष महाधिवेशनमा उभिएका छौँ,’ उनले भने।
अहिलेसम्म कांग्रेसबाट भएका कमिकमजोरीमा आफ्नो पनि केही हिस्सा रहेको उनको स्वीकारोक्ति थियो। ‘अहिलेसम्म जेजस्ता कमजोरी भएका छन्, ड्राइभिङ सिटको छेउमा बसेकाले त्यसको केही हिस्सा हामी पनि लिन्छौँ’, महामन्त्री शर्माले भने, ‘त्यसलाई स्वीकारेर हामीले भनेका हौँ, पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन, नयाँ ढंगले जानुपर्छ।’
कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार चलाउँदा पनि आशा जगाउन नसकेको उनको भनाइ थियो। ‘हामी दुइटा दल मिलेर पनि आशा र विश्वास दिलाउन सकेनौँ,’ शर्माले भने, ‘जेनजीबाट नकारात्मक बन्न जरुरी छैन। उनी अन्तरिक्षबाट आएका थिएनन्, हाम्रै काखमा हुर्के बढेका थिए।’
अब सद्भाव, सुशासन र समुन्नतिलाई मूल मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस विभानज नहुने उनको भनाइ थियो। ‘हामी जन्मिँदा कांग्रेस थियौँ, मर्दा पनि कांग्रेस भएर मर्नेछौँ। कांग्रेसलाई विभाजित गर्नलाई होइन, स्पात जस्तो बनाउनका भेला भएका हौँ,’ उनले भने, ‘सिंगो कांग्रेसको नेतृत्व गर्नेगरी अघि बढ्छौँ। सिंगो देशको नेतृत्व गर्नेगरी अघि बढ्छौँ।’
विशेष महाधिवेशनले विवेकपूर्ण निर्णय गर्ने बताए। ‘हलले जे निर्णय लिनेछ, त्यही निर्णय कांग्रेसको आगामी बाटो हुनेछ। कांग्रेसलाई बदल्ने निर्णय लिनेछ, देशलाई बदल्ने निर्णय लिनेछ। कांग्रेसलाई एकढिक्का बनाएर जाने निर्णय लिनेछ’, शर्माले भने।
Shares

प्रतिक्रिया