राजनीति


उनेपाका नेताहरूसँग कुलमानले भने- रास्वपासँग मिलेर जान गाह्रो भयो

उनेपाका नेताहरूसँग कुलमानले भने- रास्वपासँग मिलेर जान गाह्रो भयो

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १८:३७, काठमाडौँ

उज्यालो नेपाल पार्टीको नेतृत्व तहका केही नेताहरूसँगको छलफलमा कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेर जान गाह्रो भएको बताएका छन्। 

उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग तीन घण्टा छलफल गरेका थिए। त्यसपछि दिउँसो उज्यालो नेपाल पार्टीका नेतृत्व तहका नेतासँग बौद्धमा दुई घण्टा छलफल गरेका हुन्। 

आफू निकट र सल्लाह सुझाव लिने गरेका नेताहरूसँगको छलफलमा रास्वपासँग मिलेर जान गाह्रो भएको सुनाएको एक नेताले बताए। ‘एक-दुई कुरा मिलेका छैनन्,’ घिसिङको भनाइ उद्धृत गर्दै तीन नेताले भने, ‘रास्वपासँग मिलेर जान गाह्रो भयो।’

शीर्ष तहका नेतासँगको छलफलपछि अहिले उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यसँग छलफलमा जुटेका छन्। काठमाडौँको बौद्धस्थित एक होटलमा छलफल सुरु भएको छ। यसअघि छलफलका लागि सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीको ग्रुपमा सूचना जारी गरिएको थियो। 

केन्द्रीय सदस्यहरूसँगको छलफलपछि रास्वपासँग मिलेर जाने कि अलग हुने भन्ने निष्कर्षमा पुग्ने घिसिङको योजना छ। ‘अहिल्यै अलग हुने निर्णयमा त पुगिसक्नु भएको छैन। आजको छलफलपछि के गर्ने भन्ने निर्णयमा पुग्नुहुन्छ,’ छलफलमा सहभागी अर्का नेताले भने, ‘रास्वपासँग अप्ठ्यारो भएको सुनाउनु भएको छ।’

यो पनि पढ्नुहोस् : मन्त्रीबाट राजीनामा लगत्तै रास्वपाबाट बाहिरिएको घोषणा गर्न चाहन्थे कुलमान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad