राजनीति


सहमतिमै अघि बढ्न कांग्रेसका १५ भ्रातृ संगठनको अपिल

सहमतिमै अघि बढ्न कांग्रेसका १५ भ्रातृ संगठनको अपिल

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १३:४७, काठमाडौँ

विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद भइरहेका वेला १५ वटा भातृ संगठनले सहमतिमै अघि बढ्न अपिल गरेका छन्। 

शुक्रबार भातृ संगठनहरूले संयुक्त अपिल जारी गरी कांग्रेस नेतृत्व र विशेष महाधिवेशन पक्षधरलाई सहमतिका लागि आग्रह गरेका हुन्। ‘नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ गतेसम्मका लागि तोकिसकेको र फागुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षमा पार्टी एकढिक्का भई अघि बढ्नुको विकल्प छैन’, उनीहरूले भनेका छन्, ‘यो समय सबै नेता तथा कार्यकर्ताहरू तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्वलाई स्वीकार गरेर सहमतिमार्फत नै अघि बढ्न अनुरोध गर्दछौँ।’

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र देखिएको तिक्तता नियाली रहेको उनीहरूले उल्लेख गरेका छन्। ‘पछिल्लो समय देशमा आएको राजनीतिक संटक र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिकबाट नियाली रहेका छौँ’, अपिलमा भनेका छन्, ‘हालको अवस्थामा देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ। नेपाली कांग्रेसका सभापति, पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

यससँगै उनीहरूले कांग्रेस नेता विमलेन्द्र निधिलाई भएको दुर्व्यवहारको पनि विरोध गरेका छन्। उनीहरूले कुनै पनि नेता तथा कार्यकर्तालाई दुर्व्यवहार नगर्न अपिल गरेका छन्। 

नेपाल महिला संघका अध्यक्ष उषा राउत, नेपाल दरुण दलका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन् सेनानी संघ अध्यक्ष वालकृष्ण दाहाल, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्दै तिमल्सिना, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान तथा केन्द्रीय सदस्य हर्कबहादुर विश्वकर्मा र नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष गर्जबहादुर गुरुङले संयुक्त अपिल जारी गरेका हुन्। 
त्यस्तै, नपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महासचिव मनोहरी श्रेष्ठ, नेपाल लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, नेपाल मुस्लिम संघका अध्यक्ष अतावुल मन्सुरी, नेपाल थारू संघका अध्यक्ष शिवनारायण महतो गुरो, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष इच्छुराम राना मगर तथा उपाध्यक्ष कृष्ण थापा मगर, नेपाल तामाङ संघका अध्यक्ष रामकृष्ण इन्द्र लामा, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले अपिल जारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad