शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणका लागि आएका दुइटा निमन्त्रणापत्र सार्वजनिक गर्दै आफू त्यहाँ नजाने बताएका छन्।
मन्त्री भइसकेपछि यसअघि पनि निमन्त्रणा आएका तीनवटा विदेश भ्रमणमा नगएको उल्लेख गर्दै उनले यसपटक पनि नजाने जानकारी गराएका हुन्।
‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ’, मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ?’
शिक्षामन्त्री पुनले सार्वजनिक गरेका पत्रअनुसार उनलाई आगामी फेब्रुअरी ४-६ मा इजरायलको जेरुसेलममा आयोजना हुने ‘मिनिस्टेरियल कन्फ्रेन्स अल पोलिसिमेकिङ फर पर्सनलाइज्ड एजुकेसन इन द एज अफ एआई’मा सहभागिताका लागि आमन्त्रण गरिएको छ भने अर्को साउदी अरेबियाको रियादमा आगामी मे ३-४ मा हुने साउदी भिजन-२०३० अन्तर्गत ‘ह्युमन क्यापेबिलिटी इन्सिएटिभ’ (एचसीआई) को तेस्रो संस्करणमा सहभागी हुन निमन्त्रणा पठाइएको छ।
हेर्नुहोस् निमन्त्रणापत्र-


युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा जाने तयारी गरिरहेका बेला शिक्षामन्त्री पुनले उक्त अभिव्यक्ति दिएका हुन्। एनआरएनए-अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता माघ ३ गते अमेरिका जाने तयारीमा छन्। तर एनआरएनए-अमेरिका दुइटा हुँदा एउटाले आमन्त्रण गर्दा अर्कोले उनलाई बोलाइएको छैन भनी विज्ञप्ति जारी गरेको छ।
Shares

प्रतिक्रिया