राजनीति


समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८२ शुक्रबार ७:२८, काठमाडौँ

निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दैछ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ सुरु गर्न लागिएको हो। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। त्यसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन्। 

समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ गर्न लागेको हो। नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ हुने छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ। सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ। फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुनेछन्। 

आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हुने छ। समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेश गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छ। समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुने छ । प्रत्यक्षमा भने निर्वाचन क्षेत्र अनुसार फरक–फरक हुने छ। 

प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि शुरु गर्ने आयोगको तयारी छ। प्रत्यक्षमा पनि दुई करोड हाराहारीमा मतपत्र छापिनेछ। समानुपातिक र प्रत्यक्ष गरी चार करोड हाराहारीमा मतपत्र छापिने छन् । 

निर्वाचन आयोगले मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाइ भने सकेको छ। 

समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी १० लाख नमूना मतपत्र छपाइ भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad