राजनीति


जेनजीको विचार र भावनाको सहि प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी नै हो : प्रचण्ड

जेनजीको विचार र भावनाको सहि प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी नै हो : प्रचण्ड

नेपालखबर
पुस २४, २०८२ बिहिबार १७:४५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको विचार र भावनाको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी नै भएको बताएका छन्। 

बिहीबार नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले जेनजीलाई पनि कम्युनिस्ट पार्टी नै आफ्नो भावनाको प्रतिनिधित्व गर्ने रहेछ भन्ने महसूस भएको बताए। ‘जेनजी युवा पुस्ताले हाम्रो विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिस्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ,’ प्रचण्डले भने।

राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको उनको भनाइ थियो। त्यसै आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको प्रचण्डले जिकिर गरे। 

‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ। त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत राष्ट्रिय एकताको आवश्यकता पर्छ,’ उनले भने, ‘त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ वटा सानाठूला कम्युनिस्ट घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौँ।’

पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको उनको दाबी थियो। ‘यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवा यो पार्टीमा केन्द्रित हुने अवस्था बढ्दै गएको छ,’ उनले भने, ‘आज पार्टीमा जोडिन आउने तपाईं पनि धेरैजसो युवापुस्ता नै हुनुहुँदो रहेछ। यसले आज फेरी एउटा सकारात्मक सन्देश देशभरी प्रवाहित भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad