नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले आफ्नो तयारी तीव्र पारेको छ। पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्न उपसमितिहरू गठन गरेको छ भने अधिवेशन सञ्चालन गर्न भृकुटीमण्डपको हल पनि बुक गरेको छ।
‘महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित मंगलबार बसेको बैठकले ६ वटा उपसमिति गठन गरेको छ, उपसमितिहरूलाई फरक फरक जिम्मेवारी दिइएको छ’, एक नेताले नेपालखबरसँग भने।
दोस्रो विशेष महाधिवेशन वृहत् जनपरिचालन समिति संयोजकको जिम्मेवारी डा.जगदीश नरसिंह केसीले पाएका छन्। आवास तथा भोजन समिति संयोजकको जिम्मेवारी रमेश धमलालाई दिइएको छ।
यसैगरी भातृ, शुभेच्छुक, युवा परिचालन प्रतीमा गौतम, स्वयंसेवक परिचालन मनिष कोइराला र यातायात व्यवस्थापन समितिको जिम्मेवारी माधव ढकाललाई दिइएको छ।
‘शक्ति प्रदर्शन’ गर्न समिति
नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने थियो। संस्थापन इतर पक्ष (गगन-विश्वप्रकाश समूह)ले नेतृत्व परिवर्तन र नीतिगत स्पष्टताका लागि विशेष महाधिवेशनको माग गरेपछि बहस चर्किएको हो।
दोस्रो विशेष महाधिवेशन वृहत् जनपरिचालन समितिले महाधिवेशनमा जनसहभागिता जुटाउने र शक्ति प्रदर्शनको काम गर्ने जनाएको छ।
‘विशेष महाधिवेशनका लागि यो नै मुख्य समिति हो। हाम्रो समितिमा एक हजार एक जना हुनुहुन्छ’, डा.केसीले नेपालखबरसँग भने, ‘समितिमा केन्द्रीय सदस्य, प्रदेश तह, जिल्ला, क्षेत्रीय र पालिका तहबाट समेत सभापति, उपसभापति तथा सदस्यहरू हुनुहुन्छ।’
काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा सभापतिहरू जनपरिचालन समितिमा रहेको उनको दाबी छ।
भृकुटीमण्डपमा ‘महाभारत’
अहिले गर्न लागिएको विशेष महाधिवेशनको मुख्य आधार असोज २९ गते बुझाइएको हस्ताक्षर हो। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए।
कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने अनिवार्य व्यवस्था छ। सो दिनदेखि ९० दिनको समयसीमा पुस २८-२९ मा सकिने भएपछि महामन्त्रीद्वय थापा र शर्मा समूहले पुस मसान्तभित्रै काठमाडौँमा महाधिवेशन गर्न तयारी गरेका हुन्।
आवास तथा भोजनालय समितिको जिम्मा पाएका रमेश धमालाले मंगलबार भृकुटीमण्डप पुगेर भोजन व्यवस्थापन कसरी मिलाउने भनेर तयारी अवलोकन गरेका छन्। देशभरिबाट आउने प्रतिनिधिको बसाइँ र खानाको व्यवस्थापन उनले मिलाउँदै छन्।
दुई दिनसम्म चल्ने विशेष महाधिवेशन भृकुटीमण्डपमा हुने जनाइएको छ। एड्भान्स रकम दिएर यसअघि नै ठाउँ बुक गरिसकिएको छ। महाधिवेशन स्थलको दुई दिनको भाडा करिब ८ लाख रुपैयाँ रहेको छ।

विशेष महाधिवेशन गर्नका लागि भनेर पुस २७ र २८ दुई दिनका लागि बुक भइसकेको समाज कल्याण परिषद् अन्तर्गत भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख खगनाथ रेग्मीले बताए।
‘ठूलो मैदान, हल तथा पार्किङस्थल बुक गर्नु भएको छ’, नेपालखबरसँग उनले भने, ‘उहाँहरूले एड्भान्स रकम पनि बुझाउनु भएको छ।’
त्यही दिन राप्रपाले पनि कार्यक्रम राख्न चाहेकाले व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेको उनले बताए।
‘केन्द्र भनेको महामन्त्री पनि हो’
विशेष महाधिवेशन आयोजकले देशभरका प्रतिनिधिहरूलाई पुस २६ गते शनिबारसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएका छन्। विशेष महाधिवेशनका लागि आर्थिक स्रोतको टुंगो अझै छैन। पार्टीको आधिकारिक कोष प्रयोग गर्न नपाउने भएपछि स्वैच्छिक सहयोग र आन्तरिक व्यवस्थापनबाटै खर्च जुटाउनुपर्ने हुन्छ।
कांग्रेसमा अहिले देखिएको विवादको अर्को मोड पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि हो। सो बैठकले विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै बहुमतको आधारमा २०८३ वैशाख २८-३१ गते १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो।
यस निर्णयमा महामन्त्रीद्वय थापा र शर्मासहित ५ जना नेताले ‘नोट अफ डिसेन्ट’ (फरक मत) दर्ता गराएका थिए। महामन्त्री थापाले ‘केन्द्र भनेको महामन्त्री पनि हो’ भन्दै विधानको अन्तिम व्याख्या आफूले पनि गर्ने चुनौती दिएका थिए।
आक्रमक संस्थापन समूह
यसैबीच सोमबार कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ गते नै ‘स्वतः समाप्त भइसकेको’ भन्दै तल्ला कमिटीहरूलाई परिपत्र गरेको छ।
सोमबार नै संस्थापन पक्षका ५ प्रदेश सभापतिहरू (वीरबहादुर बलायर, उद्धव थापा, कृष्णप्रसाद यादव, ईन्द्रबहादुर बानियाँ र ललितजंग शाही)ले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गरेका छन्। अर्कोतर्फ मंगलबार, केन्द्रीय सदस्यहरू डिला संग्रौला पन्त र पुष्पा भुसालसहितका ३० जना नेताहरूले मध्यमार्गी बाटो पहिल्याउन भन्दै नेता शेखर कोइरालासँग छलफल गरेका छन्।
संस्थापन पक्षले नियमित महाधिवेशनको मिति तय गरे पनि इतर पक्षले विशेष महाधिवेशनका लागि ६ वटा उपसमिति गठन गरेरै अघि बढेपछि कांग्रेसभित्र ठूलो अन्योल देखिएको हो।
यो पनि: कांग्रेसले पठायो ‘विशेष महाधिवेशनको औचित्य समाप्त’ भएको पत्र
Shares

प्रतिक्रिया