आसन्न राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच गठबन्धन गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको हो।
कांग्रेसको पहलमा एमाले, नेकपा र जसपा पनि राष्ट्रिय सभा निर्वाचनमा एकैठाउँमा आइपुगेका छन्। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमाले र नेकपाका नेताहरूसँग घनिभूत छलफलपछि राष्ट्रिय सभा निर्वाचनमा चार दल एक ठाउँमा आउने अवस्था बनेको हो।
कांग्रेसका एक नेताले भने, ‘राष्ट्रिय सभामा कांग्रेस, एमाले, नेकपा र जसपाबीच तालमेल गर्ने सहमति भयो। एमालेसँग क्लस्टर र नेकपासँग संख्यामा प्राविधिक कुरा मिलाउन बाँकी छ।’
ती नेताका अनुसार निर्वाचन हुने १८ सिटमा कांग्रेसले ७, एमालेले ७, नेकपाले ३ र जसपाले १ सिट पाउने सहमति भएको छ। पार्टी स्टे«न्थ अनुसार कांग्रेसले ८ सिटमा दाबी गरे पनि नेकपाका लागि एउटा सिट छाडेको ती नेता बताउँछन्।
सोमबार कांग्रेस कार्यवाहक सभापति खड्का र नेता लेखक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेका थिए। छलफलमा अध्यक्ष ओली राष्ट्रिय सभामा एमालेको उपस्थिति निकै कम रहेको भन्दै ७ सिटभन्दा तल झर्न तयार नभएको स्रोतको भनाइ छ।
‘कांग्रेस ७, एमाले ६, नेकपा ४ र जसपा १ गरेर जाने कि भन्ने हाम्रो प्रस्ताव थियो। ओलीजीले राष्ट्रिय सभामा एमालेको सिट घटेको भन्दै ७ सिटभन्दा तल झर्न मान्नु भएन। यता प्रचण्डजीले ४ सिटमा दाबी राख्नु भएको छ,’ कांग्रेसका एक नेताले भने।
ती नेताका अनुसार पार्टीको ‘स्ट्रेन्थ’ र आन्तरिक शक्तिसन्तुलन मिलाउन पनि नेकपालाई ४ सिट चाहिने नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको माग थियो। मंगलबार बिहान कांग्रेस नेता लेखकले प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी हात्तीवनको छलफलमा एमाले अध्यक्ष ओलीसँग भएको कुराकानीबारे ‘ब्रिफिङ’सहित ३ सिटमा सहमतिका लागि प्रस्ताव राखेका थिए।
नेकपाका नेता श्रेष्ठले कांग्रेस नेता लेखकसँग राष्ट्रिय सभा निर्वाचनको विषयमा केन्द्रित रहेर छलफल भएको बताए। ‘राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने कुरामा सकारात्मक छलफल भएको छ। आज सामान्य कुरा भएको छ। केही कुरा मिलाउन बाँकी छ,’ श्रेष्ठले नेपालखबरसँग भने।
राष्ट्रिय सभा निर्वाचनबारे जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरसँग कांग्रेस नेताहरूले टेलिफोन संवाद गरिरहेको बुझिएको छ।
छलफलमा संलग्न नेताहरूका अनुसार राष्ट्रिय सभा सिट बाँडफाँडमा कांग्रेस र एमालेबीच क्लस्टर र प्रदेशगत भागबन्डा मिलिसकेको छैन। पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबन्डा मिलाउन आजै सहमति गरिसक्नुपर्ने बाध्यता छ।
एमाले उपमहासचिव लेखराज भट्टले पनि राष्ट्रिय सभाको निर्वाचनका लागि सिटको क्लस्टर मिल्न बाँकी रहेको बताए। एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव भट्टले भने, ‘हरेक प्रदेशमा १ जना पर्नेगरि हामीले ७ जना भनेका छौँ, तर कुन प्रदेशमा महिला कति र पुरुष कति, कसले लिने टुंगो के लगोको छैन।’
एमाले सचिवालय बैठकले यसबारे सहमति गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको उनको भनाइ छ। ‘कसले कति सिट पाउने भन्ने बाँडफाँट भएको छ, तर क्लस्टरवाइज कसलाई कहाँ पर्छ भन्ने टुंगो अझैँ नलागेको हुनाले नेपाली कांग्रेससँग हाम्रो अध्यक्षले छलफल गरेर टुंगो लगाउने अधिकार अध्यक्षलाई दिएको छ,’ भट्टले भने।
राष्ट्रिय सभाका कोसी र लुम्बिनी प्रदेशबाट ३–३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना गरी १८ जना सदस्यका लागि निर्वाचन हुँदै छ। ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनितसहित) ११, नेकपाका (राष्ट्रपतिबाट मनोनितसहित) २७, जसपाका ४ र राष्ट्रिय जनमोर्चका १ जना सांसद छन्।
आगामी फागुन २१ गते कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यमा एमालेका ८, मनोनित वामदेम गौतमसहित नेकपाका ९ र जसपाका २ जना छन् ।
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्। २०७६ सालमा भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल सकिन लागेको हो। यसमा कांग्रेसका भने कोही छैनन्।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ।
एक्लाएक्लै चुनाव लड्दा कोसीमा एमाले र बाँकी ६ प्रदेशमा कांग्रेसको मतभार धेरै छ। कांग्रेस, एमाले, नेकपा र जसपाले गठबन्धन गरी उम्मेदवारी दर्ता गर्दा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ।
न्यून मतभार भएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायका दलको राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिने तयारी देखिएको छैन। यद्यपि राजनीतक उपस्थितिका लागि पनि केही प्रदेशमा राष्ट्रिय सभामा उम्मेदवारी दिने सम्भवना रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्।
Shares

प्रतिक्रिया