नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
मंगलबार बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
नजिकिँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धि छलफलको लागि एमालेले सचिवालय बैठक बोलाएको छ।
आगामी माघ ११ गतेका लागि घोषित राष्ट्रियसभाका रिक्त पदमा हुने निर्वाचनमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलसँग छलफल अघि बढाएको छ।
गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै छलफल गरेका थिए।
राष्ट्रिय सभाका रिक्त १९ सिटमध्ये १८ सिटमा निर्वाचन हुन लागेको हो। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, केन्द्रीय कमिटीका एजेण्डाका विषयमा पनि छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्।
बैठकमा नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ।
देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ।
जसअनुसार मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरूलाई संयोजक र जिल्ला इन्चार्जहरूलाई पनि संयोजकको भूमिका दिने तयारी एमालेले गरेको छ।
Shares

प्रतिक्रिया