नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलका लागि सिट बाँडफाँटको पहल गरिरहेको छ। माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ।
तालमेलका लागि यी तीन दलबीच संवादको सुरुवात पुस दोस्रो साता रमेश लेखकले गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट सुरुमा लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग एक्लै संवाद गरे। गत शुक्रबार बिहान उनले ओलीलाई भेटेका थिए। आइतबार च्यासलमा ओली र प्रचण्डबीच पनि भेटवार्ता भयो।
ओलीलाई भेटेर प्रचण्ड भारत प्रस्थान गरेपछि कांग्रेस शीर्ष नेता देउवा निवास महाराजगञ्जमा छलफलमा जुटे। उक्त छलफलमा लेखकले राष्ट्रियसभा निर्वाचनका लागि ओली र प्रचण्डसँगको भेटवार्ताको ब्रिफिङ गरेका थिए। संस्थापन पक्षीय शीर्ष नेता सहभागी बैठकले राष्ट्रियसभा निर्वाचनमा एमाले, नेकपा र मधेसवादी दलसँग चुनाव तालमेल गर्न उपयुक्त हुने निष्कर्ष निकाल्यो।
आइतबार बिहान ९ बजे कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र लेखक एमाले अध्यक्ष ओलीको निवास गुण्डु पुगे। राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएर गुण्डुमा ओली, खड्का र लेखकबीच दुई घण्टा छलफल भएको थियो। लेखकका अनुसार ओलीसँगको छलफलमा राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र मधेसवादी दलबीच चुनावी तालमेल गर्ने समझदारी भएको छ।
सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेलबारे ब्रिफिङ गरेका थिए। राष्ट्रियसभा निर्वाचनमा तालमेल नगरी चुनाव लड्दा परिणाम हात नलाग्ने भएपछि एमाले, नेकपा र मधेसवादीसँग मिलेर जानुपर्ने पक्षमा कांग्रेस उभिएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समापन गरेर कार्यवाहक सभापति खड्का र लेखक देउवा निवास महाराजगञ्ज पुगेर बिहान ओलीसँग भएको कुराकानीको ब्रिफिङ गरेका थिए।
देउवा निवासमा २–३ घण्टा छलफल गरेर खड्का र लेखक राति साढे ९ बजे ओली निवास गुण्डु पुगेका थिए। ओलीसँगको भेटवार्तापछि उनीहरू प्रचण्डनिवास हात्तीवन जाने तयारी छ।
‘अहिले गुण्डुमा छलफल भइरहेको छ। आजै नेकपा संयोजक प्रचण्डजीलाई भेटेर गुण्डु आउने तयारी थियो। भारतबाट फर्किन उहाँलाई ढिलो भयो। सकेसम्म आजै उहाँसँग भेट हुन्छ होला। सम्भव नभए भोलि बिहान हुन्छ,’ स्रोतले भन्यो।
सोमबार रातिसम्म सहमति भएमा मंगबार बिहान ११ बजे बस्ने कांग्रेसको कार्यसम्पादन समिति र एमालेको सचिवालयबाट निर्णय गर्ने तयारी छ। पुस २३ (बुधबार) मा राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले दलहरू सिट बाँडफाँट टुंग्याउनुपर्ने दबाबमा छन्। १८ सिटमा कांग्रेसले ७, एमालेले ६, नेकपाले ४ र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने मोटामोटी समझदारी बनेको छ।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेकपाका दोस्रो तहका नेताबीच भोलि छलफल हुनेछ। कोसी र लुम्बिनी प्रदेशबाट ३–३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना गरी १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ। एक्लाएक्लै चुनाव लड्दा कोसी प्रदेश बाहेकमा कांग्रेस मतभारमा पहिलो दल हो। तर, एमाले र नेकपाबीच तालमेल हुँदा भने कांग्रेसले जित्ने सम्भावना न्यून छ।
कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रियसभा मात्रै होइन, प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धन गर्ने प्रयास भइरहेको छ।
‘राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने विषयमा संविधान निर्माणकर्ता दलबीच छलफल भइरहेको छ। राजनीतिमा सम्भावना नहुने भन्ने हुँदैन,’ लेखकले नेपालखबरसँग भने, ‘यो आसन्न प्रतिनिधिसभा निर्वाचनसम्म पनि जान सक्छ।’
एमालेका नेताहरू पनि आगामी निर्वाचनमा संविधान निर्माणकर्ता दल एक ठाउँमा आउने बताउँदै आएका छन्। एमाले उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखकराज भट्ट, रघुवीर महासेठ लगायतका नेताहरूले सार्वजनिक रूपमै तीन दल मिलेर चुनाव लड्ने सम्भावना रहेको बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया