प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सुशासन, नेपो किड्स र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सडकमा ओर्लिएका जेनजीहरू अब सदनमा पुग्छन् कि पुग्दैनन् भन्ने चासो धेरैमा छ। बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङको एकता भइसकेपछि बलियो शक्तिको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ अधिकांश जेनजीको झुकाव देखिन्छ।
आइतबार रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनयन गर्दा थुप्रै जेनजी पनि छन्।
काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादव, लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्य, गण्डकी प्रदेश संयोजक प्रदीप पाण्डे, सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक खेमराज साउद, जेम्स कार्की, ओजस्वी थापा लगायतका जेनजी केन्द्रीय सदस्य बनेका छन्।
तर, रास्वपाका केन्द्रीय सदस्य बनेका धेरैजसो जेनजी आगामी चुनावमा उम्मेदवार नबन्ने बताउँछन्। पुरुषोत्तम यादव र टासी ल्हाजोम रास्वपाको समानूपातिक सूचीमा समावेश भइसकेका छन्।
टासीलाई जेनजीका मागहरूलाई लिएर जसरी भए पनि सदनमा जानु थियो। कर्णाली प्रदेशको हुम्लामा पुराना दलले गाडेको जरा जेनजी आन्दोलनले पनि उखेल्न सकेको छैन। त्यसैले आफू प्रत्यक्ष निर्वाचनमा नगई समानुपातिकमा गएको उनी बताउँछिन्।
उनी हाल आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा छिन्।
सुदन गुरुङ भने गोरखाबाट चुनाव लड्ने योजनामा छन्। तर, राजनीतिमा प्रवेश गर्ने निर्णय उनले लिइसकेका छैनन्।
‘मैले चुनाव लड्ने मनस्थिति बनाइसकेको छैन तर परेको खण्डमा लड्छु,’ सुदनले नेपालखबरसँग भने, ‘त्यहाँ प्रचण्ड आऊन् कि चक्रे मिलन, मलाई फरक पर्दैन।’
मूलधारको राजनीतिमा प्रवेश गरे आफ्नै पुर्ख्यौली थलोबाट चुनाव लड्ने उनले बताए।
गुरुङ भन्छन्, ‘समय र परिस्थितिले गर्दा चुनाव लड्नै पर्यो भने गोरखा क्षेत्र नम्बर १ नभए २ बाट लड्छु भन्ने सोचाइ छ मेरो। गोरखा मेरो जरा हो, आफ्नो पुर्खा, जरा अनि इतिहास बिर्सिनु हुँदैन।’
गोरखाको भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको उनको भनाइ छ।
‘त्यो ठाउँले कहिले पनि राम्रो नेता पाएनछ, जहिले पनि पिछडिएको ठाउँ, चुनावमा नेताहरू आउने, आशा देखाउने अनि चुनाव जितेर जाने ठाउँ रहेछ,’ उनले भने।
काउन्सिल अफ जेनजीका कर्णाली प्रदेश संयोजक प्रकाश खड्काले सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारी दिने भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै चुनाव लड्ने सम्भावना प्रबल रहेको बताए।
‘आहिलेसम्म म सुर्खेतबाट नै लड्ने कुरा छ, बाँकी त छलफलको कुरा हो अरू पनि आकांक्षीहरू हुनुहुन्छ उहाँहरू सँग पनि सहकार्य गरेर अब अगाडि बढ्छु,’ खड्काले भने, ‘अब यता हाम्रो जेनजीको तर्फबाट त म नै छु उमेर पुगेको, पार्टीको तर्फबाट पनि कोही क्यान्डिडेट हुन सक्नुहुन्छ। त्यसमा पनि प्रिइलेक्सन हुन्छ कि सिधै जेनजीलाई पठाउनुहुन्छ, थाहा छैन।’
प्रत्यक्ष चुनाव लड्ने सोचका साथ आफ्नो क्षेत्रमा राम्रै पकड बनाइराखेको पनि उनी बताउँछन्। प्रकाश नेपाल जनसेवा पार्टीको केन्द्रीय अध्यक्ष समेत छन्।
दोमनमा रक्षा बम, हर्कको पार्टीमा जाने तयारीमा उपार्जुन
जेनजी नेपाल फ्रन्टकी रक्षा बम कैलालीबाट चुनाव लड्ने चर्चा छ। तर यो प्रस्ट भइनसकेको उनी बताउँछिन्।
‘यसको बारेमा मैले सोचिसकेको छैन,’ बमले नेपालखबरसँग भनिन्, ‘यस्तो राजनीतिक परिवेश आइपुगेको छ, अब चुनाव लड्ने त होला भन्ने लाग्छ। फेरि केही वर्ष त अझै सडकमा बसेर काम गर्न सकिन्छ भन्ने पनि लागिरहेको छ।’
केही समयअघि उनले बालेनसँग वार्ता गरेकी थिइन्। बालेनलाई समर्थन गर्ने पनि बताएकी थिइन्। तर, आइतबार रास्वपाको केन्द्रीय समितिमा उनीनिकट कोही पनि सहभागी भएका छैनन्।
काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङले हर्क साङपाङको दल श्रम संस्कृति पार्टीबाट खोटाङमा प्रत्यक्ष चुनाव लड्ने सम्भावना छ।
अहिलेका नयाँ दलमध्ये एउटा छानेर चुनाव लड्ने चाम्लिङले बताउँदै आएकाछन्। तर, मुख फोरेर नभने पनि उनले भनेका धेरैजसो कुरा श्रम संस्कृति पार्टीमा मिल्न जान्छ।
रास्वपा र श्रम संस्कृति पार्टीमध्ये जसले जेनजी आन्दोनल, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता,समानुपातिक समावेशिता, आर्थिक सामाजिक न्यायका मुद्दा उठाउँछ, उसैसँग जाने उनको भनाइ छ।
‘चारित्रिक हिसाबले हेर्दा हर्क नै जनवर्गको मुद्दामा अलिक नजिक देखिनुहुन्छ, रास्वपाका साथीहरू चाहिँ प्रश्न र आरोपको घेरामा पनि हुनुहुन्छ। सांगठनिक हिसाबले रास्वपा अलिक बलियो छ तर मैले कता जाने भनेर निर्णय गरिसकेको छैन,’ उनी भन्छन्।
हर्कले उपार्जुनलाई दल प्रवेशको विषयमा बसेर कुरा गर्ने प्रस्ताव राखेको चाम्लिङले बताए।
उपार्जुनको थातथलो खोटाङ हो। तर उनी पहिचानको आन्दोलनदेखि नै धरानमा बसेर सक्रिय भएका थिए।
रास्वपामा किन नगएको भन्ने प्रश्नमा उपार्जुन भन्छन्, ‘बोलाउने बित्तिकै जाने भन्दा पनि कुनै पार्टीमा जाँदै गर्दा विचार विमर्श गर्न र सो दलको सिद्धान्त बुझ्न जरुरी हुन्छ।’
रास्वपाको समानुपातिक सूचीमा बस्ने प्रस्ताव पनि आफूले प्रत्यक्ष चुनाव लड्ने भन्दै अस्वीकार गरेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया