नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेता रमेश लेखकलाई साथमा लिएर सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्ज पुगेका छन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठक समापन गरेर कार्यवाहक सभापति खड्का देउवा निवास पुगेका हुन्।
राष्ट्रिय सभा निर्वाचनको चुानावी तालमेलको विषयमा आज बिहान नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे देउवालाई जानकारी गराउन खड्का र लेखक महाराजगञ्ज पुगेको बुझिएको छ।
देउवासँगको भेटवार्तापछि खड्का र लेखकले ओलीसँग पुनः भेटवार्ता गर्ने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिँदा लेखकले आज साँझ ओलीसँग पुनः भेटवार्ता हुने बताएका थिए।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ। जसमा कांग्रेसले ७, एमालेले ६, नेकपाले ४ र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने मोटामोटी समझदारी बनेको छ।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेकपाका दास्रो तहका नेताबीच छलफल हुनेछ।
Shares

प्रतिक्रिया