नेकपा एमालेले राष्ट्रिय सभाको चुनावाबारे निर्णय लिन सचिवालय बैठक बोलाएको छ।
भोलि केन्द्रीय कार्यालय च्यासलमा ९ बजे बस्ने बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा कोसँग तालमेल गर्ने भन्नेबारे निर्णय लिनेछ।
राष्ट्रिय सभा चुनावलाई लिएर अहिले नेकपा एमाले नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी दुवैसँग छलफलमा छ।
‘दलहरूका बीचमा संवाद जारी छ,’ नेकपा एमालेका एक सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘कोसँग मिल्ने भन्ने कुराको एकिन भएको छैन। भोलि यसबारेमा संस्थागत निर्णय हुन्छ।’
राष्ट्रिय सभामा १८ सिटका लागि चुनाव हुँदै छ। त्यसका लागि पुस २३ गते उम्मेदवारको मनोनय गर्नुपर्छ।
त्यसअघि नै कसरी जाने भन्नेबारे एमालेले निर्णय लिने छ। यद्यपि, प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नै तालमेल गरेर जाने प्रयास पनि भइरहेको छ।
त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रमेश लखेकलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका छन्।
भारत जानुअघि आइतबार प्रचण्डले ओलीसँग पनि छलफल गरेका थिए।
अनौपचारिक छलफलमा कांग्रेसले ६-८, एमालेले ५-६ र नेकपाले ३-५ सिटसम्म लिएर तालमेलन गर्न कुरा पनि उठेको छ। यद्यपि, यसबारे ठोस निर्णय हुन बाँकी छ।
Shares

प्रतिक्रिया