नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य कारबाहीको विरोध गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले विज्ञप्ति जारी गर्दैै उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यविरुद्धको कार्य भनेका छन्। शनिबार राति अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गर्दै त्यहाँ राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतिलाई पक्राउ गरि अमेरिका लिएका थिए।
‘कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गर्छ।’
मादुरो मोरोसलाई नियन्त्रणमा लिनु गम्भीर हस्तक्षेप भएको नेपाली कम्युनिस्ट पार्टीका ठहर छ। ‘राष्ट्रपति मादुरोलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय मर्यादाका लागि पूर्णतः अस्वीकार्य छ।’
नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रपति मादुरोलाई बिना सर्त तत्काल रिहा गर्न माग गर्दै भेनेजुएलाका जनतालाई आफ्नो भविष्य आफैं तय गर्ने अधिकार रहेको स्पष्ट पारेको छ।
पार्टीले हस्तक्षेपविरुद्ध विश्व समुदायलाई एकजुट हुन आह्वान समेत गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी पहलकदमी लिनुपर्छ।’
Shares

प्रतिक्रिया