पूर्वमन्त्रीसमेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराती आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन्।
पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउन केन्द्रमा सिफारिस गरेको हो।
प्रगतिशील लोकतान्त्रिक पार्टीका सुनसरी इन्चार्ज शालिक राईले काठमाडौँको सुविधानगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाई उम्मेदवारमा उनको नाम सिफारिस गरेका हुन्।
गत २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा किराती तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनी भोजपुरबाट विजयी भएका थिए।
माओवादी केन्द्र दर्जनभन्दा बढी वाम दलसँग एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी बनेपछि जनार्दन शर्मासँगै अलग भएका किराती अहिले भने नवगठित पार्टीका तर्फबाट सुनसरी-१ का लागि उम्मेदवार सिफारिस भएका हुन्।
उक्त क्षेत्र श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकामा पर्छ।
यद्यपि उनले आगामी निर्वाचनमा चुनाव लड्ने क्षेत्र घोषणा गरिसकेका छैनन्।
Shares

प्रतिक्रिया