नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार समय घर्किएको भन्दै पार्टीको नियमित महाधिवेशन स्थगन घोषणा गरेपछि सभापति शेरबहादुर देउवा पनि छलफलमा सक्रिय भएका छन्।
महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी अब विशेष महाधिवशेन गर्न आह्वान गरेलगत्तै कार्यकारी भूमिका छाडिसकेका देउवा पनि नेताहरूसँग संवादमा जुटेका हुन्।
यस क्रममा उनले बिहीबार साँझ कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकलगायतसँग महाधिवेशनका विषयमा छलफल गरेका छन्।
यस्तै उनले छलफलका लागि बिहीबार साँझ महामन्त्रीद्वय थापा र शर्मालाई पनि आफ्नो निवास महाराजगन्जमा बोलाएका थिए। तर महामन्त्री थापा विशेष महाधिवेशनको प्रतिवेदन तयार गर्न भन्दै काभ्रेको धुलिखेल लागे।
यसपछि देउवाले महामन्त्रीहरूसँगको छलफलमा चासो दिएका छैनन्। हिजो स्थगित महामन्त्रीहरूसँगको छलफल आज गर्ने तालिका नरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए। साथै उनले अन्य नेताहरूसँग पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै गर्ने उनको भनाइ छ।
‘सभापतिज्यूले आज महामन्त्रीलाई छलफलमा बोलाउनुभएको छैन’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘अन्य नेताहरूसँग पनि कार्यवाहक सभापतिले नै छलफल गर्नु हुन्छ होला।’
Shares

प्रतिक्रिया