समुन्नत पार्टी नेपालका अध्यक्ष सर्वेन्द्र खनालले नेपालको राजनीतिक संस्कार अराजनीतिक दिशातर्फ गएको बताएका छन्। उनले अराजनीतिक संस्कारको शुद्धीकरण गर्न आवश्यक रहेको बताए।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले नयाँले पुरानालाई र पुरानाने नयाँलाई गालीगलौज गर्ने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए। गाली–गलौजको राजनीतिभन्दा नीति, सिद्धान्त र एजेन्डामा आधारित बहस गर्न आवश्यक रहेको उनको भनाई छ।
खनालकाअनुसार समुन्नत पाटीले देशलाई समुन्नत कसरी बनाउने भन्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र, नीति र दीर्घकालीन रोडम्यापसहित राजनीति अघि बढाएको छ। पुरानाले नयाँलाई गाली गर्ने र नयाँले पुरानालाई गाली गर्ने प्रवृत्तिभन्दा माथि उठेर आफू कसरी सही बन्ने भन्नेकुरा आफूहरुको प्राथमिकता रहेको उनले बताए।
उनले विगतका नेतृत्वहरूले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने र नराम्रा कामको कानूनी तथा व्यवहारिक रूपमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिए। राम्रा र नराम्रा कामको जस–अपजस सम्बन्धित पक्षले नै लिनुपर्ने उनको भनाई छ।
देशमा भ्रष्टाचारको समस्या व्यापक रहेको बताउँदै उनले कानूनी र त्रुटिहरूलाई सुधार गरी सुशासन स्थापना गर्ने विषयमा पार्टी केन्द्रित रहेको जानकारी दिए।
उनले भने, ‘अब पुरानाले नयाँलाई गाली गर्ने, नयाँले पुरानालाई गाली गर्ने भन्दापनि आफू कसरी ठिक हुने भन्नेकुरा चाहिँ घोषणापत्रमा, पोलिसिमा, सिद्धान्तमा भो, अनि साँचिकै नेपालको अवस्थालाई कसरी विकास गर्न सकिन्छ भनेर स्पष्ट रोडम्यापसहित हामी उत्रेका हौँ।’
उनले आगामी निर्वाचनको लागि पार्टीले समानुपातिक बन्दसूचि पेश गरेको पनि जानकारी दिए। चुनावमा भाग लिनको लागी आफूहरुले घोषणापत्र समेत तयार बनाइसकेको उनको भनाई छ। उनले गैरआवासीय नेपाली नागरिकलाई कार्यकारी प्रमुख पदबाहेक अन्यमा सहभागी गराउनेगरि नीति बनाउनुपर्ने पक्षमा आफूहरू रहको पनि जानकारी दिए।

प्रतिक्रिया