राजनीति


शान्तिप्रेमी मुलुकको रुपमा नेपाललाई विश्वमा चिनाउनुपर्छः महानिरीक्षक कार्की

शान्तिप्रेमी मुलुकको रुपमा नेपाललाई विश्वमा चिनाउनुपर्छः महानिरीक्षक कार्की

नेपालखबर
पुस १५, २०८२ मंगलबार १६:४१, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाउने नाममा ढुंगामुढा, आगजनी र तोडफोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्ने बताएका छन्।

जेन–जी आन्दोलनको क्रममा आगजानी भएको कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले समाजमा सहयोगी मनको विकास भएमा अपराध नियन्त्रण, विकास र शान्ति सम्भव हुने बताए। 

महानिरीक्षक कार्कीले नागरिकको सहयोगका कारण प्रहरी भवन निर्माण गर्न सफल भएको बताए। उनले सहयोगी नागरिककै कारण सवारी साधन प्राप्त भएको तथा अपराधविरुद्धका सूचनाहरु प्राप्त भइरहेको बताए। 

कोही पनि मानिस अयोग्य नहुने भन्दै असल संगत र सहयोग पाए सबै मानिस सकारात्मक बन्नसक्ने बताए। असल संगतको लागि समाज पनि तयार हुँदै गएको उनको भनाई छ। उनले नेपाललाई हिंसा, आगजनी र आफ्नै सम्पदा नष्ट गर्ने मुलुकका रूपमा नभई शान्तिप्रेमी, विकासप्रेमी, कानून पालना गर्ने र समानतामा विश्वास गर्ने नागरिक भएको देशका रूपमा विश्वमा चिनाउनुपर्ने बताए।

भावी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने आजको गम्भीर प्रश्न रहेको उनको भनाई छ। विभाजन, झगडा र हिंसाले भरिएको समाजले सन्तानको सुरक्षा र भविष्य सुनिश्चित गर्न नसक्ने उनले बताए। सुरक्षित भविष्यका लागि अहिलेको पुस्ताले थप जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए। 

उनले भने, ‘हामी यो समृद्ध मुलुकको नागरिकको रुपमा विश्वभरमा चिनिने, अहिले ढुंगा हान्ने मुलुकको, आफ्नै घर जलाउने मुलुकको, आफ्नै ऐतिहासिक धरोहर जलाउने मुलुकको, आफ्नै इतिहास मेटाउने मुलुकको नागरिकको रुपमा होइन, यो शान्तिप्रमी, विकासप्रेमी, उन्नती प्रेमी, कानुन कार्यन्वयन गर्ने, कानुनी शासन चाहने, समानता चाहने र मुलुकको हितमा काम गर्ने नागरिकका रुपमा हामी सबैतिर चित्रित हुन सकौँ। हामीले कस्तो समाज बनाउने, हामीले सन्ततीलाई कस्तो समाज हस्तान्तरण गर्ने? लडाईँ गर्ने, झगडा गर्ने, छिमेकीलाई देखिनसहने, विभाजित भएको, गाली गर्ने, कुटिहाल्ने, ध्वंस गरिहाल्ने, आगो लगाइहाल्ने, ठोकिहाल्ने यस्तो बन्यौँ भने हाम्रा सन्ततीलाई सुरक्षित पनि बनाउँदैनौ।’ 

उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार नागरिकको सहयोगमा फिर्ता भइसकेको बताए। साथै आन्दोलनका क्रममा बद्मासी गर्नेहरू पनि क्रमशः कानुनी दायरामा आइसकेको उनले जानकारी दिए। उनले ड्युटीका क्रममा ज्यान गुमाएका स्वर्गीय सहायक हवलदार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङलाई नेपाल प्रहरीमा करार सेवामा रोजगारी दिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad