नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याएर छोड्ने प्रतिवद्धता जनाएका छन्।
मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरे। उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताए।
अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा ल्याउन नसकेको भएपनि एकदिन कानुनको कठघरामा उभ्याउने बताए।
उनले भने, ‘दासढुंगा घटना जुन भयो। दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो। त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो। एउटा हत्या षड्यन्त्र थियो? त्यो बेला यो प्रश्न उठेको थियो। छानबिनले के सावित गर्यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरूको भयंकर षड्यन्त्र थियो। षड्यन्त्रअन्तर्गत नै मदनआश्रितको हत्या गरिएको थियो। हामीले ति हत्याराहरू कानुनको कठघरामा ल्याउन सकिरहेका छैनौँ। तर एकदिन हामी मदनआश्रितको हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौँ।’
उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताए। २४ घण्टाभित्र राज्यका तीन वटै अंगहरूलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरूमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको बताए। उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको बताए।
उनले भने, ‘भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा। एउटा असाधारण घटना। २४ घण्टाभित्र राज्यका तीन वटै अंगहरूलाई ध्वस्त बनाइयो। आगजनी गरियो। राजनीतिक दलका नेताहरूमाथि आक्रमण गरियो, आगजनी गरियो। यो घटना सामान्य घटना होइन। यो असाधारण घटना हो। यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो। न्यायपालिकालाई आगो लगाइयो। त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ। त्यो जनविद्रोह थियो? जेन–जीको आवरणमा गरिएको घटना हो। वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो? यो प्रश्न उठेको छ। भदौ २३ र २४ को घटना जनविद्रोह थिएन। जनक्रान्ति थिएन। अग्रगमन थिएन। प्रतिगमन थियो। प्रतिक्रान्ति थियो।’
उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको शिकार भएको बताए। संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताए।
Shares

प्रतिक्रिया