राजनीति


मध्यरातसम्मै व्यस्त बहादुर भवन, एमालेसहित ४३ दलद्वारा समानुपातिकको बन्दसूची पेस

मध्यरातसम्मै व्यस्त बहादुर भवन, एमालेसहित ४३ दलद्वारा समानुपातिकको बन्दसूची पेस

कृष्ण ढुंगाना
पुस १५, २०८२ मंगलबार ०:२३, काठमाडौँ

पुसको घमाइलो दिन दिउँसो काठमाडौं, कान्तिपथस्थित सरकारी भवनको आँगनमा उम्मेदवारी दर्ता गराउन सयौँ मानिस जम्मा भएका थिए। 
समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय सकिनै लाग्दा त्यहाँ भिडभाड बढ्दै गएको थियो। ती मध्ये धेरैजसो बन्दसूची बुझाउन आएका साना पर्टीका नेताहरु थिए भने कोही चाहिँ पार्टी कार्यालयमा नाम फाइनल नहुँदै निर्वाचन आयोगमा निस्सा लिन आइपुगेकाहरु थिए। 

पाँच महिनादेखिको राजनीतिक अस्थिरतापछि देशलाई वैधानिक ट्र्याकमा ल्याउने उद्देश्यका साथ फागुन २१ मा हुन लागेको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन थियो।

जनता समाजवादी पार्टी नेपालका दोस्रो, तेस्रो तहका ७-८ जना नेता, कार्यकर्ता खुला चउरमा गोलो घेरामा बसेर समानुपातिकको निस्सा हेर्दै प्रक्रिया पूरा गर्नमा व्यस्त थिए। आइतबार महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग जसपा नेपालले पार्टी एकीकरण गरेको थियो।

आयोगको प्रांगणमा नेता, कार्यकर्ताको चहलपहल छ। तस्विरः विशाल कार्की

सोमबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादवसहितका नेतालाई पार्टीमा भित्र्याएपछि समयसीमा सकिन केही घण्टा मात्र बाँकी छँदा पार्टी कार्यालय, बालकुमारीबाट उनीहरु सोझै निर्वाचन आयोग आइपुगेका थिए।

‘सबैलाई समेट्ने काम भएको छ। निस्सा भर्न झन्झटिलो छ। केही घण्टा लाग्यो’, जसपा नेता प्रदीप यादवले नेपालखबरसँग भने। जसपाले समानुपातिकमा १ सय १ उम्मेदवार चयन गरेको छ।

यसअघि जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टीले उम्मेदवारको बन्दसूची बुझाइसकेका थिए। निर्वाचन आयोगको तथ्यांकअनुसार यस पटक ९३ वटा दल समानुपातिक निर्वाचनमा सहभागी हुँदैछन्। यी मध्ये पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउनेहरु थोरै हुनेछन्। त्यो थ्रेसहोल्ड भनेको देशभरि खसेको मतमध्ये ३ प्रतिशत हो।

२०८२ भदौमा भ्रस्टाचार र सुशासनको असफलताप्रति आक्रोश पोखिएको थियो। युवा नेतृत्वमा भएको आन्दोलनले शक्तिशाली केपी शर्मा ओली सरकारलाई ढालेको थियो। यससँगै तीन प्रमुख राजनीतिक दलका नेताहरुबीच वर्षौंदेखि चल्दै आएको शक्ति पद, सत्ता र शक्ति बाँडफाँडको अन्त्य भएको थियो। त्यही उथलपुथलपछि जन्मिएका जेनजी सम्मिलित कुलमान घिसिङ, बालेन समूहका सयभन्दा बढी नयाँ नेता यस पटकको चुनाबमा उम्मेदवार बन्दैछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ उम्मेदवार संख्या पहिलाभन्दा बढी हुनसक्छ।

काँग्रेस, एमाले संसद पुनर्स्थापनाको कोसिसमा लागिरहे पनि दीर्घकालीन समाधान चुनाब नै हो भन्ने तथ्यमा सहमत देखिएका थिए। सुरुमा निर्वाचन होला कि नहोला भन्ने अन्योल भए पनि नागरिकसँग परीक्षण हुन उनीहरु तयार भएका थिए। सोमबार विभिन्न क्षेत्र, भेग र जातीय पृष्ठभूमिका दलहरु उम्मेदवारी दर्ता गर्न आयोग आइपुगे।

समानुपातिकको बन्दसूची बुझाउन ढिलो गर्नेहरु यो पटक पनि ठूला दलहरु नै थिए। ‘नाम टुंगो लगाउन समय लागेकाले ढिलो भएको हो। हाम्रो पार्टीमा युवादेखि पुराना नेताहरु पनि हुनुहुन्छ, नाम फाइनल गर्न समय लाग्नु स्वभाविकै हो नि’, काँग्रेस नेता मीनबहादुर विश्वकर्माले नेपालखबरसँग भने। आकांक्षी धेरै हुँदा पनि निर्णय गर्न गाह्रो भएको उनको भनाइ थियो। 

काँग्रेस, एमाले संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालततिर गएका थिए। रवि लामिछाने जेलमुक्त भएर बालेन र कुलमान घिसिङसँगको एकता गर्दै चुनाबी मैदानमा उत्रिएपछि राष्ट्रिय राजनीति पूरै चुनाबतर्फ ढल्किएको थियो। सुरुमा निर्वाचन होला कि नहोला भन्ने अन्योल रहे पनि एक हप्ता यता ठूला दलहरु चुनाबमा जान्न भन्न गाह्रो पर्ने अवस्थामा पुगेका थिए। नयाँ दलहरु त जनतामा जान उत्साही नै थिए।

‘सबै कुरा ठिकठाक भए हामीले चुनाबमा राम्रो गर्नेछौँ’, आयोग पुगेका पूर्व प्रहरी महानिरीक्षक तथा समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले नेपालखबरसँग भने, ‘हामी युवा नेतृत्वको अर्को पार्टीसँग पनि सहकार्य गर्दैछौँ।’

सोमबार कार्यालय समय सुरु हुनुभन्दा अगाडिदेखि नै दलका नेता, कार्यकर्ताको निर्वाचन आयोगमा आवतजावत सुरु भइसकेको थियो। हिजो अस्तीसम्म सुनसान रहने आयोग गेटमा सोमबार एक दर्जन सुरक्षाकर्मी तैनाथ थिए। बाहिर छुट्टै समूह पहरा दिइरहेको थियो।

‘सर यता नाम टिपाएर जानुहोला’, साँझ ५ः५८ मा आइपुगेका एक जना पैदलयात्रीलाई आयोगको गेटमा रोक्दै नेपाल प्रहरीका जवानले भने, ‘के कामले आउनु भएको हो?’ सोमबार यसरी आयोग प्रवेशका लागि नाम लेख्ने उनी २ सय १७ औँ भिजिटर थिए। त्यो संख्या गाडीमा प्रवेश गर्ने बाहेकको थियो। आयोगमा राजनीतिक नेताको आवत जावत बढेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो। गेटमा नेपाल प्रहरीका १० जना थिए। सशस्त्र प्रहरीको करिब ३ सय ५० जना पहिलै तैनाथ भइसकेका थिए। 

पूर्व प्रहरी महानिरीक्षक तथा समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनाल

राति भइसक्दा पनि आयोग कर्मचारीको व्यस्थता उस्तै देखिन्थ्यो। बिहानैदेखि काममा खटिएकाहरू राति भइसक्दा पनि काममै थिए। आयोगको भवन बाहिरपट्टि राखिएका निस्सा वितरण र दर्ता डेस्कका कर्मचारीलाई चिसोले सकस थपेको थियो। ठूला दलको ढिलाइका कारण उनीहरु पुसको चिसो सहन विवश थिए। 

‘आज रातिभरि काम हुन्छ। खाना खान हिँडेका हौँ’, साँझ झमक्क भइसकेपछि बहादुर भवन गेट बाहिर भेटिएका तीन जनामध्येका एक जना अधिकृत श्रवण लुइँटेलले नेपालखबरसँग भने, ‘अब व्यस्थता सुरु भयो।’ हुन पनि समानुपातिकका लागि उम्मेदवारको बन्दसूची बुझाउन तोकिएको समय साँझ ५ बजेसम्म मात्र थियो र त्यसपछि आयोगमा झन् चहलपहल बढेको थियो।

केही समय अघि राजेन्द्र महतो, अशोक राई, रेशमलाल चौधरीको समूह फर्किएको थियो। सुदन किराँती पनि फर्किसकेका थिए।

त्यसपछि नेता राजेन्द्र पाण्डे नेपाली कम्युनिष्ट पार्टीका १ सय १० जना उम्मेदवारको सूची बोकेर आयोग आइपुगेका थिए। ‘पहिलाकाहरुलाई दोहोर्‍याएका छैनौँ। युवा पुस्तालाई ध्यान दिएका छौँ’ उनले सुनाएका थिए। 

समानुपातिक निर्वाचनको पछिल्लो खास स्थिति कहाँ पुगेको हो? रातको चिसो बढ्दै जाँदा मैले जवाफ खोजेको थिएँ। सहसचिव यज्ञप्रसाद भट्टराईले सरल ढंगले प्रक्रिया बुझादिए। ‘निर्धारित समयमा आयोग परिसरमा प्रवेश गरिसकेकाहरु सबै दलको बन्दसूची दर्ता हुन्छ। हामी रातभरि काम गर्छौं, १२ बजेसम्म नसकिए त्यसपछि काम हुन्छ। काँग्रेस, एमाले, रास्वपा सबै ठूला दलका प्रतिनिधि यहीँ हुनुहुन्छ, सम्पर्कमै हुनुहुन्छ। अहिलेसम्म ३९ वटा दलले सूची बुझाइसकेका छन्।’ उनले यो सूचना दिँदा समानुपातिकको सूचीमा नेकपा एमालेले उम्मेदवारको सूची बुझाइसकेको थियो। सूची बुझाउने एमाले ३५ औँ दल बनेको थियो। अहिलेसम्म ४३ वटा दलले समानुपातिकको बन्दू सूची बुझाइसकेका छन्।

बहादुर भवनको भुइँ तलामा देब्रेपट्टि सचिवको कार्यकक्ष छ। त्यसभन्दा अगाडि भित्र जाँदा देब्रपट्टि सहसचिव नारायणप्रसाद भट्टराई सरको कार्यकक्ष पुगिन्छ। यतिबेला नारायणा सर आयोगका प्रवक्ता पनि हुन्। कार्यकक्ष प्रवेश गर्दा उनी फाइल र डायरी च्यापेर कुर्सीबाट उठिसकेका थिए। ‘व्यस्त छु, माथि माननीयज्यूलाई ब्रिफिङ गर्नुछ, १५—२० मिनेटपछि भेट्छु है’, उनले भने।

म फर्किएँ। घर आइपुगेर यति लेख्दा रातको ११ः२२ बजेको छ। हो, बहादुर भवन व्यस्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad