राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गतेका लागि तय भएको छ। देशभरबाट १८ जना नयाँ राष्ट्रिय सभा सदस्य निर्वाचित भएर जानेछन्। १८ जनाको लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट भने २ पदमा निर्वाचन हुने भएको छ।
हाल राष्ट्रिय सभामा रहेका २ सदस्यहरूको पदावधि सकिन लागेपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो। बागमती प्रदेशबाट महिला कोटाकी एमालेकी इन्दिरा देवी गौतम र तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासेको पदावधी आगामी फागुनमा सकिँदैछ।
बागमतीको २ सदस्य सहित देशभर १८ जनाको लागि निर्वाचन तोकिएको हो। यो सँगै राजनीतिक दलहरूमा चुनावी सरगर्मी बढेको छ। दलहरूले राष्ट्रिय सभा निर्वाचन र आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसलाई तीव्रता दिएको हो।
बागमती प्रदेशबाट राष्ट्रिय सभामा जाने सदस्यहरूको लागि राजनीतिक दलहरूले उम्मेदवारी छनोट प्रक्रियालाई तीव्रता दिएका छन्।
यही पुस २३ गते राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ। जसअनुसार दलहरूले आ–आफ्नो तयारी थालेका हुन्। बागमती प्रदेशको लागि हेटौँडा–२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई निर्वाचन केन्द्र समेत तोकिसकिएको छ।
प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा कुन दलको पल्लाभारी पर्छ भन्ने विषयले सबैको ध्यान खिचेको छ। राजनीति दलहरूको गठबन्धन नभएको खण्डमा भने हाल प्रदेशमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको प्रदेशको स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी १०८ सिट छ।
यस्तै, एमालेको प्रदेश सभामा २७ सिट छ भने स्थानीय तहमा ६० सिट छ। तत्कालीन नेकपा माओवादी केन्द्रको प्रदेशका २१ रहेको छ भने स्थानीय तहमा ५७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश सभामा १३ सिट छ भने स्थानीय तहमा १, तत्कालीन नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ७ सिट हुँदा स्थानीय तहमा ९ सिट छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को प्रदेश सभामा ३ सिट छ भने स्थानीय तहमा २, हाम्रो नेपाली पार्टी (हानेपा) को प्रदेश सभामा २ सिट र एक स्थानीय तहमा १ स्वतन्त्र गरी प्रदेश सभातर्फ ११० सदस्य र स्थानीय तहतर्फ २३८ प्रमुख/उपप्रमुख मतदाताको रुपमा सहभागी हुनेछन्।
जसमा दलीय मतभारको अंक गणितमा कांग्रेसको सबैभन्दा अघि छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदको मतभार अर्थात् एक मत बराबर ५३ र स्थानीय तहको प्रमुख÷उप्रमुखको एक मत बराबर १९ मतभार हुन आउँछ। जसमा प्रदेश सांसद ३७ र स्थानीय जनप्रतिनिधि १०८ गरी नेपाली कांग्रेसको मात्रै ४ हजार १३ मतभार रहन्छ।
बागमती प्रदेशमा कुल मतभार १० हजार ३५२ मध्ये कांग्रेसको मात्रै ४ हजार भन्दा बढी मतभार रहँदा कांग्रेसपछि दोस्रोमा वर्तमान नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देखिएको छ। तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गरी प्रदेश सभामा नेकपाको २८ सिट हुन आउँछ।
स्थानीय तहतर्फ पनि ६६ सिट हुन्छ। जसकारण नेकपा कांग्रेसपछि दोस्रो शक्तिको रुपमा छ। नेकपाको २ हजार ७३८ मतभार रहन्छ भने एमालेको मतभार २ हजार ५७१, राप्रपाको मतभार ७०८, नेमकिपाको मतभार १९७, हाम्रो नेपाली पार्टीको १०६ मतभार हुन्छ।
यो अंकगणित हेर्ने हो भने एमाले र तत्कालीन माओवादी केन्द्रले राष्ट्रिय सभामा बागमती तर्फको साख जोगाउन मुस्किल देखिन्छ। दलहरू एकल रुपमा निर्वाचनमा होमिने हो भने बागमतीबाट रिक्त हुने २ सिटमै नेपाली कांग्रेसको पल्लाभारी हुने देखिन्छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन हुनेछ भने मतदाता नामावली उपरको दाबीविरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने तालिका छ।
Shares

प्रतिक्रिया