नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सुध्रिएपछि कसैको सहारामा अघि बढ्न नपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस न सुध्रिए चारैतिर चुनौती मात्रै हुने र सुध्रिए जनतामाझ बलियो आधारसहित उभिन सक्ने स्पष्ट पारे।
‘हामी सुध्रिएनौँ भने चारैतिर चुनौती नै चुनौती छ,’ केसीले भने, ‘तर हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी हुँदैन। कांग्रेस आफैं लोकतन्त्रको संरक्षक र संवाहक हो।’
यस्तै, कांग्रेस नेता रामनाथ अधिकारीले पुसभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने भए पनि क्रियाशील सदस्यताका कारण केही समय सर्न सक्ने अवस्था रहेको बताए। उनले सदस्यता छिटो टुंग्याएर महाधिवेशन सम्पन्न गर्न आफ्नो जोड रहने उल्लेख गरे।
अधिकारीले भने, ‘पुसभित्र महाधिवेशन हुनुपर्ने हो। क्रियाशील सदस्यताका कारण केही हेरफेर भइरहेको छ, तर छिटो महाधिवेशन गर्न मेरो जोडबल रहन्छ।’
आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने अधिकारीले स्पष्ट पारे।
Shares

प्रतिक्रिया