सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनका लागि तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको ‘स्थान हद’मा लचकता अपनाइने संकेत गरेका छन्।
आज भक्तपुरको गुन्डुमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका सञ्चारमन्त्री खरेलले सञ्चारकर्मीको जिज्ञासामा ‘निर्वाचनका लागि रहेका केही उल्झन छन् हटाइने’ बताएका हुन्।
स्थानहद लगाएर कसरी निर्वाचन हुन्छ भन्ने ओलीको प्रश्नमा पत्रकारले राख्दा मन्त्री खरेलले भने, ‘हाम्रा आसपासमा केही उल्झन छन्, चुनौती छन्, केही कुरा सहज बनाउनु छ भने निर्वाचनको गन्तव्यमा पुग्न सरकारले त्यो वातावरण बनाउनुपर्छ, बनाउँदै अघि बढ्छ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएपछि त्यतिबेला प्रधानमन्त्री रहेका ओलीलाई सरकारले विदेश जान रोक लगाउँदै काठमाडौँ उपत्यकाबाट बाहिरिनुपर्दा पनि सरकारको अनुमति लिनुपर्ने आदेश जारी गरिएको छ।
यसको विरोध गर्दै एमाले अध्यक्ष ओलीले काठमाडौँ छाड्न नपाइने भएपछि कसरी चुनाव लड्नु भनेर प्रश्न गर्ने गरेका छन्।
ओलीसँग जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले चाँडै बयान पनि लिँदै छ।
सञ्चारमन्त्री खरेलले आज ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि उनीहरूकै निवासमा भेट गरेका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष नेताहरूसँग छलफल राखेको हुनाले सञ्चारमन्त्री खरेल उनीहरूलाई निम्ता दिन घरघरमा पुगेका हुन्।
Shares

प्रतिक्रिया