राजनीति


वडादेखि नै निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको छ : प्रवक्ता महत

वडादेखि नै निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको छ : प्रवक्ता महत

नेपालखबर
पुस १०, २०८२ बिहिबार १९:५८, काठमाडौँ

क्रियाशील सदस्यता फारममा वितरणमा भएको गडबढीले वडादेखिको निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्। 

बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता महतले क्रियाशील सदस्यता टुंगिएपछि मात्रै वडा अधिवेशन अघि बढ्ने बताए। अहिले क्रियाशील सदस्यता टुंग्याउने विषय नै चुतौतिपूर्ण बनेको बताए। ‘महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठूलो चुनौति सक्रिय सदस्यतालाई टुंग्याउनु हो,’ उनले भने। 

क्रियाशील सदस्यता फारमले गर्दा केही ढिलाइ भएको उनको भनाइ थियो। ‘क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक हाम्रो महामन्त्री गगनजी नै हुनुहुन्छ। जिल्ला जिल्लामा जुन चाहीं परिपत्र गरियो, क्रम संख्या नभएको फारम धेरै ठाउँमा गएको हुनाले फेरि पठाउनुपर्‍यो,’ प्रवक्ता महतले भने। 

त्यसको असर क्रियाशील सदस्यता विवरण पठाउने समयमा परेको उनको भनाइ छ। ‘कतिपय जिल्लामा वहाँहरूले भरेर बुझाउन सकेको अवस्था छैन। फेरि भरेर मात्रै हुँदैन, इन्ट्री गर्नुपर्‍यो। इन्ट्री गर्ने पनि सहज छैन। कतिपय ठाउँमा जिल्ला अफिस नै तहसनहस छ,’ उनले भने, ‘फेरि विधिसम्मत तरिकाले निर्णय गरेर पठाउनुपर्ने हुन्छ।’

यसले गर्दा वडा अधिवेशनदेखि नै ढिलाइ हुने भएको बताए। ‘यी सबैले गर्दा चाहीँ क्रियाशील सदस्यता टुंगिने कुरा जिल्ला जिल्लाका साथीहरूले आफ्नो भरमग्दुर प्रयास गर्दागर्दै पनि सबै ठाउँमा एकनास किसिमले सम्पन्न हुन सकेको छैन,’ प्रवक्ता महतले भने, ‘त्यसकारण तोकिएको मितिमा अधिवेशन गर्ने सन्दर्भमा तदारुकता र क्रियाशिलता हुँदाहुँदै पनि सदस्यता नै नटुंगिइकन त निर्वाचनको प्रक्रिया अघि बढ्दैन, वडादेखि। त्यसैले वडादेखिको निर्वाचन कार्यतालिका प्रभावित हुने देखिएको छ।’

क्रियाशील सदस्यता फारम पठाउँदा क्रम संख्या उल्लेख नभएका फारम गएकाले विवाद भएको थियो। कतिपय ठाउँमा फेरि क्रम संख्या उल्लेख भएका फारम पठाइएको थियो। जसले गर्दा क्रियाशील सदस्यता वितरण गर्ने समय नौ दिन बढाइएको थियो। 

कांग्रेसको महाधिवेशन पुस २६ देखि २९ गतेसम्म गर्ने तय भएको छ। तर, अहिलेसम्म क्रियाशील सदस्यता नै टुंगिएको छैन। यस विषयलाई कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन प्रस्ताव राखेका छन्। 

कांग्रेसको बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि नेताहरूले यस विषयमा बोलेका छन्। बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखेका थिए। 

बुधबारदेखि सुरुभएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। शुक्रबार दिउँसो १ बजे पुनः बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad