राजनीति


फागुन २१ को निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः मन्त्री घिसिङ

फागुन २१ को निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः मन्त्री घिसिङ

नेपालखबर
पुस १०, २०८२ बिहिबार १९:५६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा बताए। 

जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै मन्त्री घिसिङले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गरे। 

उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ। जेन–जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ। आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो। फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै होइन, नयाँ शक्तिहरुको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ। यसतर्फ हामी अगाडी बढ्नुपर्छ।’

उनले नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताए। 

जेन–जी आन्दोलनको स्प्रिड पनि यही रहेको उनको भनाई छ। उनले चुनावबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुभार्ग्य हुने बताए। 

मन्त्री घिसिङले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरू एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता औँल्याए। सम्पूर्ण नेपालीहरूको चाहनाअनुसार नयाँ शक्तिहरू एकठाउँमा आउने गरी प्रयासहरू भइरहेको उनले जानकारी दिए। 

‘सबै देशभित्र र बाहिर भएका सम्पूर्ण नेपालीहरुले अब एकतावद्ध भएर नयाँशक्ति, नयाँ नेतृत्वहरुको एउटा समूह, टिम अगाडी बढ्नुपर्छ’ मन्त्री घिसिङले भने, ‘फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन। अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो।’

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गरे। उनले नयाँशक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गरे। 

मन्त्री घिसिङले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गरे। 

भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad