काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह गणतन्त्र, संघीयताको पक्षमा उभिएपछि जेनजी अगुवा रक्षा बम पनि उनीसँगै काम गर्न तयार भएकी छन्।
चुनाव नजिकिँदै गर्दा मेयर बालेनले राजनीतिक दौडधुप तिव्र पारेका छन्। त्यहि क्रममा बुधबार जेनजी अगुवासँग छलफल गरेका थिए।
मेयर बालेनले बोलाएपछि छलफलका लागि गएकी जेनजी अगुवा बमले देश विकास पार्टीमै संलग्न भएर बालेनलाई सघाउन तयार भएकी हुन्। छलफलमा बालेनले सँगसँगै काम गर्न प्रस्ताव गरेका थिए।
त्यसपछि बमले बालेनको राजनीतिक तथा वैचारिक विषयमा जिज्ञासा राखेकी थिइन्। ‘मैले वैचारिक स्पष्टताको कुरा गरेको हुँ,’ बालेनसँगको भेटबारे बमले भनिन्, ‘संघीयता, संविधान, लोकतन्त्रप्रति धारणा के छ भनेर सोधेको थिए। हाम्रो जस्तै पाए। त्यसपछि भोलिको यात्रा त लामो रेस हो नि।’
मेयर बालेन गणतन्त्र र संघीयताका विपक्षमा रहेको चर्चा हुँदै आएको थियो। धेरैले उनलाई राजतन्त्र पक्षधर मान्दै आएका थिए। जेनजी अगुवा बमले पनि त्यस विषयमा स्पष्ट हुन खोजेकी थिइन्।
बालेनसँगको छलफलपछि उनको विचारबारे स्पष्ट भएको बमले बताइन्। ‘मैले वैचारिक स्पष्टता खोजेको हो, त्यसमा स्पष्ट भए म,’ बमले नेपालखबरसँग भनिन्, ‘संघीयता ठीक छ, संघीयता चाहिन्छ भन्नु भयो। लोकतन्त्र नै हो, गणतन्त्र हो भन्नु भयो। लोकतन्त्र मान्छु, गणतन्त्र मान्छु, संविधान मान्छु भनिसकेपछि थप कुरा गर्नु परेन नि त।’
त्यससँगै अन्य बैकल्पिक शक्तिलाई पनि एकै ठाउँमा ल्याउन बालेन तयार देखिएका छन्। त्यसैले पनि आफू बालेनसँगै काम गर्न सहमत भएको बमको भनाइ छ।
‘सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ। सबै बैकल्पिक शक्ति एक ठाउँमा आयो भने त उभिन्छौं भन्ने हाम्रो पहिलेदेखि नै थियो,’ उनले भनिन्, ‘सबै जना एक ठाउँमा आउने कुरा जस्तो लाग्यो। त्यही भएर हामी पनि त्यहीँ उभिनुपर्छ भन्ने लाग्यो।’
बालेनले केही जेनजी युवासँग सामूहिक रुपमा छलफल गरेका थिए। त्यसमा बम पनि सहभागी थिइन्।
उनले बालेनसँगै छुट्टै पनि छलफल गरेकी थिइन्। त्यसका क्रममा वैचारिक स्पष्टता र लोकतान्त्रिक व्यवस्थाबारे कुराकानी गरेकी हुन्।
बालेनको सचिवालयले पनि छुट्टै बमसँग छलफल गरेको थियो। सचिवालयमार्फत जेनजी युवालाई मिलाउने जिम्मेवारी बमलाई दिइएको हो।
Shares

प्रतिक्रिया