राजनीति


राजेन्द्र लिङ्देन र कमल थापा अँगालो हालेपछि रवीन्द्र मिश्र ‘अत्यन्तै खुसी’

राजेन्द्र लिङ्देन र कमल थापा अँगालो हालेपछि रवीन्द्र मिश्र ‘अत्यन्तै खुसी’

बुधबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षरपछि अंकमाल गर्दै कमल थापा र राजेन्द्र लिङ्देन।


नेपालखबर
पुस ९, २०८२ बुधबार २०:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। 

बुधबार साँझ पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले अँगालो मारेका छन्। 

दुई पार्टीबीच एकता घोषणा यही पुस १६ गते राष्ट्रियसभा गृहमा हुने सहमति पत्रमा उल्लेख छ।

यसैबीच दुई पार्टीबीच एकता हुने सहमतिले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र निकै खुसी भएका छन्।

लिङ्देन र थापा अँगालो मारेको तस्बिर फेसबुकमा राख्दै मिश्रले लेखेका छन्, ‘एकता नै बल हो। राजसंस्थावादीहरूको ध्रुवीकरण अझ तीव्र र सशक्त बनोस्। अत्यन्तै खुसी छु। दुवै पक्षको वार्ता समितिप्रति आभारी छु।’ 

तर आफू मंगलबार साँझदेख बिरामी परेकाले पार्टी एकता गर्ने सहमतिका बेला उपस्थित हुन नसकेको जानकारी गराउँदै मिश्रले दु:ख व्यक्त गरेका छन्। 

२०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै त्यही वर्ष माघमा पार्टीबाट अलग भएका थिए।

त्यसपछि सोही वर्षको फागुनमा उनी फेरि राप्रपा नेपालको अध्यक्ष बनेका थिए। यसअघि अध्यक्ष रहेका लाक्पा तामाङले राजीनामा दिएपछि थापाले राप्रपा नेपालको नेतृत्व सम्हालेका थिए।

त्यसको झन्डै ४ वर्षपछि कमल थापा फेरि राप्रपामा समाहित हुने भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad